२०७८ साउन २९ गते १३:३१ विकासन्युज
काठमाडौं । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको एउटै फाइबरबाट तीन प्रकारका सेवा (टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा) हालसम्म ५४ जिल्लामा विस्तार गरेको छ । बिहीबारसम्म उक्त जिल्लाका एक लाख ७२ हजारभन्दा बढी ग्राहकलाई एफटीटीएच फाइबर सेवा दिएको जनाएको छ ।
टेलिकमले २०७५ सालमा १ हजार ७३८ ग्राहकलाई मात्र सो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९ ग्राहकलाई र २०७७ मा १ लाख ७ हजार ७०१ ग्राहकलाई सो सेवा उपलब्ध गराएको थियो । यसैगरी, २०७८ को चार महिनामा करिब ३७ हजार १५० वटा सिपिईमार्फत डाटा तथा भ्वाइस सेवामा कुल ५४ हजार ८०० भन्दा बढी ग्राहकलाई टेलिकमले सेवा उपलब्ध गराएकाे छ ।
नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराएको थियो ।
सुरुवाती चरणमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको उक्त सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।
उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ ।
यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.