२०७८ साउन ३१ गते १५:४२ विकासन्युज
काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो दिनको कारोबार मै बजारमा उच्च उतारचढाव देखिएको हो ।
दिनभरको कारोबारमा ८२.६२ अंकको उतारचढाव देखिएको छ । सो दिनको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अधिकतम ३१८७.४८ र न्युनतम ३१०४.८६ बिन्दुसम्म झरेको थियो ।
नियमित समयमा कारोबार खुल्दा (११ बजे) नेप्से परिसूचक ३१७१.१ बिन्दुमा थियो । त्यसको तीन मिनेट नबित्दै परिसूचक घटेर ३१४० बिन्दुसम्म झर्यो । त्यसपछि ११ बजेर १६ मिनेट जाँदा परिसूचक बढेर ३१८७.४१ बिन्दुसम्म पुगेको थियो । जुन सो दिनको अधिकतम बिन्दु हो ।
तर त्यसपछिको बजारमा करिब डेढ घण्टाको अवधिमा बजार निरन्तर घटेर ३१०५ बिन्दुसम्म घट्यो । जुन सो दिनको नियमित समयको न्युनतम बिन्दु हो ।
त्यस्तै, त्यसपछिको बजारले पुनः उकालोको बाटो तय गरेको थियो । र, २ बजेर ३० मिनेट जाँदा परिसूचक ३१७४.२८ बिन्दुसम्म पुगेको थियो । बजारका लगानीकर्ता संगठनका प्रतिनिधिले अर्थमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएसँगै बजारमा केही करेक्सन आएको देखिन्छ । भेटमा अर्थमन्त्रीले बजारलाई प्रभाव पर्ने कुनै पनि काम हुन नदिने जस्तो आश्वासन दिएसँगै लगानीकर्तालाई केही राहत भएको महसुस गरेसँगै अन्त्यमा बजारले उकालोको बाटो तय गरेको देखिन्छ ।
अन्ततः आइतबारको सेयर बजार २४.५७ बिन्दुले घटेर ३१५४.३४ बिन्दुमा अडिएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो ।
तीव्र उतारचढाव देखिएको बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । दिनभरको कारोबारमा २१ अर्ब ६४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जुन नेपाली पुँजीबजारको इतिहासमै पहिलो रेकर्ड हो । सो दिन २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएको छ ।
जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको देखिन्छ ।
बजारमा तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने एक कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ ।
आइतबार सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको मूल्य घटेको छ । जसको एकैदिन ८.५४ प्रतिशतले घटेर प्रतिइकाई १२.८५ रुपैयाँमा झरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको थियो । जसमा पुँजीबजारका लगानीकर्ताले आपत्ति जनाउँदै यसलाई हटाउन माग समेत गरिसकेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.