इजरायल रोजगारीमा जान साढे ९ हजारको आवेदन

  २०७८ भदौ १ गते १६:११     विकासन्युज

काठमाडौं । सरकारी प्रक्रियाबाट इजरायल रोजगारीमा जान साढे ९ हजार बढीको आवेदन परेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउन ३२ गतेसम्म इजरायल रोजगारीका लागि ९ हजार ६९९ जनाले आवेदन दिएका हुन ।

विभागले इजरायलमा केयरगिभरका लागि आवेदन दिने अन्तिम दिन साउन ३२ गते तोकेको थियो । सो अवधिमा ५ हजार ४९९ पुरुष र ४ हजार २ सय महिलाले आवेदन दिएका हुन । पुरुषको तुलनामा महिलाको आवेदन कम परेको छ ।

सरकारले पहिलो चरणमा १ हजार नेपाली श्रमिकलाई इजरायल रोजगारीमा पठाउने तयारी गरेको छ । जसअनुसार ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३ सय पुरुष रोजगारीका लागि जान पाउनेछन् । लामो समयको तयारी पश्चात नेपाली श्रमिकका लागि इजरायलमा रोजगारीका खुला गरेको हो ।

बिभागका अनुसार इजरायलमा रोजगारको लागि मासिक ५३०० एनआईएस तलब हुनेछ । जसको नेपाली विनिमय अनुसार करिब तलब एक लाख ९३ हजार रुपैयाँ बढी हुन आउँछ । सो तलब सातामा ४२ घण्टाको हिसावमा हुन्छ ।

इजरायल जाने कामदारको खानाको प्रबन्ध आफैले मिलाउनुपर्ने भए पनि बस्ने प्रबन्ध भने रोजगारदाताले नै गर्नेछन् । एक पटक रोजगारमा जाने करार अवधि १ बर्षको हुने भए पनि करार थपिएर ५ बर्षसम्म बस्न पाइनेछ ।

विभागले इजरायलमा रोजगारीका लागि २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको हुनुपर्ने भन्दै कम्तीमा १.५ मिटर उचाइ र ४५ किलो तौल भएको हुनुपर्ने जनाएको थियो । यस्तै, कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा १० प्लस २ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिना तालिम प्राप्त गरेको हुनुपर्ने जनाएको थियो ।

यस्तैगरी, विगतमा इजरालयलमा गइ काम नगरेको तथा बुबा, आमा, पति, पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।