नेट २०३० माथि छलफलः महासंघले राप्रपालाई सुनायो आफ्नो भिजन

  २०७८ भदौ १ गते १९:२८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय आर्थिक रुपान्तरण (National Economic Transformation-NET-2030) भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने क्रममा नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसंगको छलफललाई अगाडि बढाएको छ । आज महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसंग महासंघ सचिवालयमा छलफल गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपरका वारेमा विस्तृत रूपमा जानकारी गराउंदै यसको सफल कार्यान्वयनमा महासंघले सवै राजनीतिक दलहरूको सहयोग खोजेका बताए । मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, थप २३ लाख अतिरिक्त रोजगारी सृजना गर्ने र जीडिपीको अनुपातमा व्यापार घाटा आधा घटाउने मुख्य लक्ष्यका साथ ल्याइएको नेट २०३० को सफल कार्यान्वयन सरकार, सबै राजनीतिक दलहरू, निजी क्षेत्रको संयुक्त सहयोग र सहकार्यबाट मात्र सम्भव हुने स्पष्ट पारे ।

उनले सरकारको वार्षिक बजेट तथा राष्ट्र बैंकको मौद्रिक नीति मार्फत आएका कतिपय कार्यक्रम तथा नीतिहरू भिजन पेपरको कार्यान्वयनलाई सहज बनाउने खालको आएको पनि उनले स्पष्ट पारे । भिजन पेपरको सफल कार्यान्वयनका लागि महासंघले एक सय वटा प्रयासहरूको पहिचान गरेको र ती मध्ये करिव आधा जतिको कार्यान्वयनको थालनी भैसकेको पनि उनको भनाई छ ।

कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउन उद्योग व्यवसायको पुनरुत्थान र नयां थप उद्योग व्यवसाय विस्तार आवश्यक भएकोमा अध्यक्ष गोल्छाले जोड दिए।

सरकार र नेपाल राष्ट्र बैंकको उचित सहयोगका कारण पहिलो कोभिड लहर पश्चात केही क्षेत्र बाहेक अन्य क्षेत्रहरू सहज रुपमा माथि उठन सके पनि दोस्रो लहर अर्थतन्त्रका लागि बढी घातक हुन पुुगेको उनको भनाई छ । ‘अर्थतन्त्रलाई अहिलेको संकटबाट माथि उठाउन सरकारले ल्याएका नीति तथा कार्यक्रम र महासंघले भिजन पेपर मार्फत अगाडी सारेका कार्यक्रम तथा सुुझावहरूको पूर्ण कार्यान्वयन निजी क्षेत्रले खोेजेको र त्यसमा राजनीतिक दल तथा सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास महासंघको छ, उनले भने ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तीनै जना अध्यक्षहरुले आफ्नो दल यतिखेर आर्थिक नीति बनाउने तयारीमा रहेकाले निजी क्षेत्रसंग सल्लाह सुुझाव लिने उद्देश्यले महासंघको नेतृत्वसंग छलफल गर्न आएको जानकारी गराए ।

महासंघले अगाडी सारेको भिजन पेपर र त्यसले लिएका लक्ष्यहरु निकै नै महत्वपूर्ण रहेको र यो दस्तावेज सरकार तथा सवै राजनीतिक दलहरुका लागि समेत अत्यन्त महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनमा आफ्नो दलको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाए ।

आफ्नो दल निजी क्षेत्र मैत्री रहेकोमा विश्वस्त हुन आग्रह गर्दै निजी क्षेत्र मैत्री वातावरण भयो भने मात्र मुलुकुभित्र उद्योग धन्दा विस्तार हुने, रोजगारी सृजना हुने, वाह्य लगानी आउनेमा आफूहरू स्पष्ट रहेको उनले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आवश्यक रहेको बताए । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुुल परिवर्तन, नीतिगत स्थिरता आवश्यक रहेकोमा जोड दिए ।
छलफलमा महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष अन्जन श्रेष्ठ, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, राप्रपाको आर्थिक समितिका संयोजक उद्धव पौडेल र कार्यसम्पादन समितिका सदस्य मोहन श्रेष्ठ सहभागी थिए ।