२०७८ भदौ २ गते १२:४० विकासन्युज
बलेवा । बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।
मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो ।
गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ । खानेपानीका मुहान, तरकारी टनेल, धानखेतसमेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन् ।
घटना र क्षतिको विवरण आउन बाँकी छ । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युत्का पोल ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.