पर्यटन क्षेत्रमा रोजगारी गुमाएकाले १५ लाखसम्म ऋण पाउने

  २०७८ भदौ ८ गते १८:४०     विकासन्युज

काठमाडौं । कोभिड-१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्तिले १५ लाखसम्म ऋण पाउने भएका छन् । उनीहरुले स्वरोजगार हुने गरी व्यवसाय सञ्चालन सो मात्राको कर्जा पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार एक सर्कुलर जारी गर्दै उक्त व्यवस्था गरेको हो । साथै, बैंकले ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाख रुपैयाँसम्मको कर्जा दिने नयाँ व्यवस्था गरेको छ ।

यससँगै महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा २० लाख रुपैयाँसम्मको कर्जा प्रवाह हुने छ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, वास्तविक कृषि व्यवसायीलाई २० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा पनि कर्जा दिने र यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने बैंकले जनाएको छ ।