२०७८ भदौ ९ गते १५:०१ विकासन्युज
काठमाडौं । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापासँग अथाह सम्पत्ति रहेको पाइएको छ ।
मन्त्रीभएपछि थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा साढे ७ लाख कित्ता सेयर, १५ तोला हिरा, ९० तोला सुन र १० करोड बढी नगद मौज्दात रहेको उल्लेख गरेका छन् ।
थापा पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत हुन । मन्त्री थापाको पोखरा–८ नयाँबजारमा ३ हजार ९११ वर्गमिटर क्षेत्रफलमा घर छ । आम्दानीको स्रोतमा ऋण र सापट भनेका छन् ।
यस्तै, वडा नं. ९ मा ४ हजार ९९४ वर्गमिटर क्षेत्रफलमा उनको अर्को घर, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्ट पनि उनले सम्पत्ति विवरणमा देखाएका छन् । मन्त्री थापाले यी सम्पत्ति आफ्नो, २ श्रीमतीहरू राधा थापा क्षेत्री र मनलक्ष्मी थापाका नाममा छुट्टाछुट्टै राखेका छन् ।
मन्त्री थापाले विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा गरी १० करोड नगद मौज्दात रहेको र ७ लाख ५० हजार कित्ता शेयर रहेको बताएका छन् । उनले पोखराका विभिन्न ठाउँमा झन्डै १०० कित्ता जग्गा आफू, दुई श्रीमतीलगायत परिवारको नाममा रहेको विवरण बुझाएका छन् ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार ५ वटा बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन् । जसअनुसार माछापुच्छ्रे बैंकबाट ११ करोड ७३ लाख ५३ हजार, एनएमबी बैंकबाट १० करोड ३५ लाख २१ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ५ करोड २९ लाख ६५ हजार, नविल बैंकबाट ४० लाख १३ हजार र सानिमा बैंकबाट ३ करोड २५ लाख १७ हजार रुपैयाँ ऋण लिइएको उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.