साढे ४५ अर्ब रुपैयाँ खर्च गरिसकेकाे हुलाकी राजमार्गको काम सुस्त, समयमै नबन्ने पक्का

  २०७८ भदौ १० गते ११:०८     राजिब न्याैपाने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको हुलाकी राजमार्ग निर्माणको काम समयमै नसकिने देखिएको छ । आयोजना निर्माण सम्पन्न गर्ने समय सकिन अब एक वर्ष मात्रै बाँकी रहँदा हालसम्म ६८ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयले समेत तोकेको समय सीमा भित्रै काम नसकिने बताएको छ ।

पूर्व–पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हुलाकी राजमार्गको काम हालसम्म ६८ प्रतिशत मात्रै भएको हुलाकी राजमार्ग आयोजना प्रमुख रोहित कुमार बिसुरालले बताए ।

‘हामीले लामो समयदेखि कोरोना भाइरसको समस्या भोग्यौं, अहिले पनि कोरोनाको सन्त्रास भोगिरहेका छौं, अहिले बर्खायाममा पनि काम अगाडि बढाउन केही समस्या देखियो, अब भने काम रफ्तारमा हुन्छ, स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर फिल्डमा काम भइरहेको छ,’ आयोजना प्रमुख बिसुरालले भने ।

राई–मधेसका २१ जिल्ला जोड्ने बहु प्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी राजमार्गको कामले हाल तीव्रता पाइरहेको पनि बिसुरालल बताए । उनका अनुसार फिल्डमा काम गर्ने अधिकांश कामदारहरुलाई कोरोनाको संक्रमण भएको कारण पनि काम दु्रत गतिमा अगाडि नबढेको हो ।

‘हामीले गत वर्ष लक्ष्यभन्दा बढी पुलहरु निर्माण गर्यौं, तर विभिन्न ठाउँहरुमा बाढी पहिरोका कारण पनि बनेका पुलहरुमा समस्या आयो, बनिसकेका पुलमा पनि क्षति आयो, पुल सम्पन्न भएर आयोजनाले नलिँदासम्म निर्माण व्यवसायीको जिम्मेवारी हुन्छ, पहिले विभिन्न कारणले अघि बढ्न नसकेका कतिपय पुल अहिले अदालती प्रक्रियाका भएकोले पनि काम द्रुत गतिमा नभएको हो,’ उनले भने ।

आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको यस लोकमार्गको निर्माण कार्य २०७९ मा सक्ने लक्ष्य छ । तर, अबको एक वर्षभित्रै सकिने सम्भावना भने एकदमै न्यून छ । जुन आयोजना कार्यालयले पनि स्वीकार गर्दै आएको छ ।

७ सय किमि सडक कालोपत्रे र ९७ वटा पुल बने

आयोजना कार्यालयका अनुसार हालसम्म ७ सय २५ किलोमिटर सडक कालोपत्रे भएको छ । आयोजनाले कुल १६ सय ६३ किलोमिटर कालोपत्रे सडक र १ सय २५ वटा पुलहरू निर्माणको जिम्मा लिएपनि हालसम्म त्यसको आधा मात्रै भौतिक सरचना निर्माण भएको हो ।

हुलाकी लोकमार्ग आयोजनामा सुरु अनुमानित बजेट ४७ अर्ब २४ करोड रुपैयाँ भएपनि पछि संशोधन गरेर ६५ अर्ब २० करोड रुपैयाँ पु¥याइएको थियो । हालसम्म ४५ अर्ब ६३ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए ।

क्षतिपुर्ति मागले समस्या बढायो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको हुलाकी राजमार्ग निर्माणको चरणमा विभिन्न समस्याहरु देखिएका छन् । आयोजना प्रमुख बिसुरालले आयोजनाको व्यवस्थापनमा सबैभन्दा ठुलो समस्या लागत बढिरहने, गुणस्तर नहुने र स्थानीयहरुले क्षतिपुर्तिको माग गर्ने नै मुख्य समस्याहरु रहेको बताए ।

‘यो आयोजनामाजग्गा किनेर सडक बनाउने भन्ने होइन, पहिले जुन ठाउँमा ट्र्याक थियो, अहिले स्थानीयहरुले क्षतिपुर्ति माग गर्ने, अदालत जाने जस्ता विषयले काम गर्न समस्या भइरहेको छ, कोभिड र अहिले बर्खाको समस्याले उत्तिकै समस्या छ,’उनले भने ।

उनका अनुसार निकुञ्ज तथा बनको विषय पनि समस्याको रुपमा देखिएको छ । निकुञ्ज क्षेत्रमा वन मन्त्रालयले अनुमति नदिँदा निर्माण अघि बढ्न नसक्ने उनको भनाई छ । उनका अनुसार कतिपय स्थानमा अझै पनि सडकको रेखाङ्कनको विषय टुङ्गो लाग्न बाँकी छ । वन क्षेत्रमा सडक निर्माणका लागि अनुमति आउन बाँकी भएकाले समयमा काम नसकिने उनको भनाई छ ।