२०७८ भदौ १० गते १६:०१ विकासन्युज
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार व्यापार घाटा २७.३ प्रतिशतले बढेर १३९८ अर्ब ७१ करोड पुगेको हो । अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो ।
व्यापार घाटा गत आवकाे संशाेधित बजेटकाे तुलनमा १३ अर्ब रुपैयाँ बढी हाे । गत आवमा पूर्व अर्थमन्त्री विष्णु पाैडेलले बजेटकाे अर्ध समिक्षा गर्दै १० प्रतिशत बजेट कटाैती गरेका थिए । उनले कु्ल बजेटकाे १० प्रतिशत कटाैती गर्दै १३ खर्ब ८५ अर्ब रुपैयाँ कायम गरेका थिए ।
पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले कुल १४ खर्ब ७४ अर्ब रुपैयाँकाे बजेट प्रस्तुत गरेका थिए । उनले ल्याएकाे बजेट पाैडेलले कटाैती गरेका थिए ।
समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ८.२ प्रतिशत रहेको थियो ।यस्तै, आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १४१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ५१.७ प्रतिशत र २७.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ को निर्यातमा १४.७ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु आयात २८.७ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.१ प्रतिशत, २८.६ प्रतिशत र १९.६ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, सुन लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारी लगायतका वस्तुको आयात घटेको तथ्यांकले देखाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.