मनसुन पुनः सक्रिय, तराई क्षेत्र उच्च जोखिममा

  २०७८ भदौ ११ गते १०:०३     विकासन्युज

काठमाडौं । नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो ।

मौषम पूर्वानुमान महाशाखाले यस पटकको वर्षा तराई केन्द्रीत भएको जनाएको छ । भदौरे झरी तराई केन्द्रीत भएको भन्दै महाशाखाले तराई क्षेत्रमा डुबान र कटानको खतरा बढेको जनाएको छ ।
महाशाखाका अनुसार विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा केही दिनदेखि नै भइरहेको छ ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी भारी वर्षाको सम्भावना छ।

यस्तै राति धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘भोलि (शनिबार) बाट भने वर्षा हुने क्रम केही कम हुँदै जाने सम्भावना रहेको जनाईएको छ ।

केही दिनयताको मनसुनी सक्रियताले देशका धेरै स्थानमा एक सय मिलिमिटरभन्दा बढी पानी परेको रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।