एक महिनामा २० अर्ब बढीको निर्यात

  २०७८ भदौ ११ गते ११:२७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नै २० अर्ब बढीको निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९) को पहिलो महिनाको तथ्यांक अनुसार आयातको तुलनामा निर्यातमा बृद्धि भएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो एक महिनाको तुलनामा चालु आवको पहिलो एक महिनामा निर्यातसगैँ आयातमा समेत बृद्धि भएको छ ।

विभागको तथ्यांक अनुसार चालु आवको पहिलो महिनामा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा ९ अर्ब ६२ करोड रुपैयाँ बराबरका सामग्री निर्यात गरिएको थियो । तथ्याङ्कअनुसार गत वर्षको तुलनामा निर्यात ११५.८५ प्रतिशतले बढेको हो ।

यस्तै, साउन महिनामा एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ । गत आवको सोही अवधिमा ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँ बराबरको आयात गरिएको थियो । सो अवधिको तुलनामा चालु आवमा ७५.६६ प्रतिशतले आयात बढेको हो ।

त्यस्तै नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।