२०७८ भदौ ११ गते १२:४८ विकासन्युज
काठमाडौं । करिब ५ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाईन तथा ट्रायल खुला गर्ने तयारी भएको छ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको तयारी गरेको हो ।
विभागले बिहीबार एक सूचना जारी गर्दै सरकारले तोेकेको स्वास्थ्य मापदण्ड पालना गरेर लाइसेन्सको ट्रायल परीक्षा संचालन गर्न यातायात कार्यालयलाई पत्राचार गरेको छ ।
विभागले लिखित तथा प्रयोगात्मक परीक्षा यहि भदौ १७ गतेदेखि खुलाउने तयारी गरेको छ । तयारी स्वरुप काठमाडौं उपत्यका ४ यातायात कार्यालयहरु (यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था कार्यालय चाबहिल र यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ्ग) लाई परीक्षा सञ्चालनको तयारी गर्न निर्देशन दिएको हो ।
सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन स्थगित भइरहेको छ । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै असार ८ गतेदेखि यातायात व्यवस्था कार्यालयहरुले सेवा शुरु गरिसकेका छन् । तर ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन भने खुलाएका छैनन् ।
विभागले ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गर्दै सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ ल्याएको छ ।
परीक्षा सञ्चालनका लागि मापदण्ड
विभागले लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालनको लागि नयाँ मापदण्ड बनाएको छ । बिहीबार सार्वजनिक गरिएको मापदण्ड अनुसार लिखित परीक्षामा एक सिफ्टमा बढीमा सय जनालाई सहभागी गराउने र एउटा कोठामा बढीमा २५ जना राख्ने व्यवस्था गरिएको छ । यस्तै, ट्रायल पनि एक सिफ्टमा बढीमा ५० जनालाई मात्र सहभागी गराउने मापदण्ड स्वीकृत भएको हो ।
विभागका महानिर्देशक नमराज घिमिरेले स्वास्थ्य मापदण्डको कडा रुपमा पालना गर्दै परीक्षा सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार मापदण्डमा तोकिए अनुसार प्रत्यक सिप्टमा तोकिएको संख्यामा परीक्षर्थीलाई राखिनेछ ।
मापदण्ड अनुसार कार्यालयले खुला ठाउँ भएको विद्यालय वा अन्य भवन खोजेर लिखित परीक्षा सञ्चालन गर्नु पर्नेछ भने प्रयोगात्मक परीक्षाका लागि कार्यालयहरुले २४ घण्टा अगाडि परीक्षाको विवरण तोक्नुपर्ने हुन्छ ।
परीक्षा दिन आउनेका लागि मास्क र स्यानिटाइजर पनि अनिवार्य गरिएको छ । परीक्षासँगै नयाँ आवेदकका लागि अनलाइन फारम पनि खुलाइने विभागले जनाएको छ ।
६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स
अब ट्रायलमा ६० प्रतिशत अंक ल्याउनेले सहज रुपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन पाउने भएका छन् । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्दै उक्त व्यवस्था राख्न लागेको हो ।
विभागले परिर्वतन गरेको मापदण्ड अनुसार गाह्रो मानिने प्यारामिटरलाई बढी र सजिला प्यारामिटरलाई कम अंकभार हुने गरी छुट्याईएको छ । त्यसका आधारमा पूर्णाङमा कम्तिमा ६० अक ल्याउनेहरु लाइसेन्स प्राप्त गर्न योग्य रहनेछन् ।
१० लाख लाइसेन्स विहीन
देशभर स्मार्ट लाइसेन्सको पर्खाइमा बस्ने नेपालीको संख्या १० लाख २५ हजार पुगेको छ । त्यसमध्ये ४ लाख ५५ हजार २ सय ४० जनाले स्मार्ट लाइसेन्स प्राप्त गर्न आवश्यक लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा पास गरेर रसिदसमेत पाइसकेका छन् ।
त्यस्तै, ४ लाख २५ हजार लाइसेन्स प्राप्त गर्न आवश्यक परीक्षा (लिखित र प्रयोगात्मक) का लागि अनलाइन मार्फत आवेदन दिएका छन भने १ लाख ४५ हजार पुरानो कागजी लाइसेन्सको म्याद सकिएर नवीकरणसँगै स्मार्ट लाइसेन्स पाउने आसमा बसेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.