ललितपुरको शुभाले खोलाले बगाउँदा एक महिलाको मृत्य, बालिका बेपत्ता

  २०७८ भदौ १२ गते १०:२०     विकासन्युज

काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–६ आश्राङ र नं ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिकासमेत बेपत्ता भएकी छिन् ।

विगत तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान गएको हो । वडा नं ७ का वडाध्यक्ष नवराज सञ्जेलले दिउँसो ४ः३० बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको जानकारी दिए । स्थानीयवासी उद्धव घिमिरेका अनुसार ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान हुनाका साथै बेपत्ता भएकी बालिकाको भने अझै परिचय खुल्न सकेको छैन ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र क्षेत्रीले घटनाको सुचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी गराए । विगत केही दिनदेखि मुलुकका विभिन्न स्थानमा बाढी अनि पहिरोलगायत डुव्बानको समाचार आइरहँदा कान्ति लोकपथ तथा बगुवा र आश्राङ सडकसमेत अवरुद्ध भइरहेको छ ।

यस्तै, भिरबाट लडेर गम्भीर घाइते भएका बैतडीका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर घाइते भएका थिए । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो । उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ ।