खसी पालनले उकासेको जीवन: वार्षिक करोड बढीको कारोबार

  २०७८ भदौ १८ गते १६:४६     विकासन्युज

काठमाडाैं । सुनसरीका दुई परिवारले खसीबोका पालेरै वार्षिक १ करोड बढीको कारोबार गर्दै आएका छन् । उत्पादनले सहजै बजार पाउने र माग समेत बढी आउने भएकाले खसीबाख्रा पालन उनीहरुको राम्रो आम्दानीको श्रोत बनेको हो ।

सुनसरीको कोशी कटान क्षेत्रमा दुई वर्ष अघिबाट थालिएको बोयर गोट फार्ममा तीन महिनाको एउटै पाठी अढाई लाख मूल्यमा बिक्री हुने गरेको छ । अस्ट्रेलियाबाट चिम्पाञ्जी जातको बोका र बाख्रा ल्याएर सुरु गरिएको सो फार्मले दुई लटका पाठापाठी बिक्री गरि सकेको छ ।

फार्मका खसी बाख्रा मासुका लागि भन्दा पनि बीउ र उत्पादनको लागि किसानले प्रयोगमा ल्याउने गरेका छन् । एउटा माउ बाख्राले एकै पटकमा तीन वटासम्म पाठापाठी पाउने भएकाले समेत पालनको लागि पाठीको माग अत्याधिक रहेको फार्म सञ्चालक बताउँछन् । बोका समेत ६ देखि ८ लाखमा बिक्रि हुने गरेको बताउने फार्म सञ्चालक माग धान्न नसकेकाले व्यवसाय बिस्तारमा जुटेको बताउँछन् ।

कृषि पेशा अंगाल्दै आएको सुनसरीको डुम्राहाकी कोपिला कार्कीको परिवारले समेत पाठापाठी बेचेरै मनग्यै आम्दानी गर्दै आएको छ । आठ वर्ष यता निरन्तर सो पेशामा लागेको कार्की परिवारले खसीबाख्रा पालनका लागि घरमै ठूलेमोर कृषि फार्म संचालन गरेको छ ।

उक्त फार्ममा १ सय ५० बढी खसीबाख्रा पालिएका छन् । लोकल तथा बोयर क्रस र जमुनापारी क्रस बाख्रा पालन गर्दै आएको सो परिवार बजारको कुनै समस्या नभएको बताउँछ । मासुका लागि खसीको माग अत्याधिक रहेको बताउने फार्म सञ्चालिका कार्की स्थानीय बजारमै उत्पादन खपत हुने गरेको बताउँछिन ।

व्यवसायिक रुपमा फार्म संचालन गर्दै आएकाको हकमा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र इनरुवाले आवश्यक परामर्श र अनुदान दिने भएकाले समेत पछिल्लो समय व्यवसायिक पालनमा किसानको आकर्षण बढ्दै गएको छ ।