२०७८ भदौ २१ गते ९:४३ विकासन्युज
काठमाडौं । गएरातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँका अधिकाशं स्थानमा बाढी परेको छ । रातिबाट परेको वर्षका कारण काठमाडौंका ३ सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालयकाका अनुसार १ सय ३८ जनाको सकुशल उद्धार गरिएको छ । प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरका अनुसार मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।
बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।
अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको थियो । डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन ।
गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेको थियो ।
नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.