२०७८ भदौ २२ गते १९:२३ विकासन्युज
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले राखेका जिज्ञासामा उनले सो जानकारी गराएका हुन् ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनले आफ्ना दलका सांसदलाई बुुधबारदेखि प्रारम्भ हुने संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्नसमेत निर्देशन दिए । प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का बारेमा यो नेपालको विकासका लागि महत्वपूर्ण भएको र यो परियोजना एकाएक नभई लामो प्रक्रिया पुर्याएर आएको बारेमा धारणा व्यक्त गरेकाे पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
एमसीसी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर प्रतिस्र्धाबाट नेपाल सरकारले प्राप्त गरेको अनुदान हो । यो परियोजना नेपालमा ल्याउन विगत लामो समयदेखि धेरै दलका सरकार नेतृत्वमा रहेका र निरन्तरता दिँदै आजको अवस्थामा आइपुगेको हो । यसलाई कानूनी प्रक्रिया पूरा गरी प्रतिस्पर्धामा गएर अनुदानका रूपमा नेपालको विकासका लागि प्रसारण लाइन बनाएर नेपालको विद्युत् उत्पादनलाई अझै बढी उत्पादनमुखी बनाउने विषयमा समेत बैठकमा सांसदले धारणा राखेका थिए ।
अन्य दलसँग समन्वय गरेर एमसीसी अघि बढाइने
प्रमुख सचेतक भुसालले भने, ‘यसबाट नेपालले आफ्नो फाइदा लिनसक्ने भएको हुुनाले हिजोको निरन्तरता प्रक्रियालाई अहिलेको सरकारले अघि बढाउने विषयमा समेत बैठकमा छलफल भएको छ । त्यसका लागि अन्य दलसँग पनि समन्वय, छलफल र संवाद गर्नुपर्ने सन्दर्भमा धेरै सांसदले धारणा व्यक्त गरेका थिए ।’
सो विषयलाई राजनीतिकरण गर्ने र भ्रमित रुपबाट विषय बाहिर गएको हुनाले यसको पूर्णरूपमा विस्तृत अध्ययन गरेर सबैलाई जानकारी गराउने विषयमा छलफल हुनुपर्दछ भन्ने सुझाव बैठकमा सांसदले राखेका थिए । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को पहिलो बैठकमा विगतका विचाराधीन अध्यादेश तथा विधेयक प्रस्तुत गर्नेलगायत विषयमा जानकारी गराएका थिए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.