प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक बस्दै

  २०७८ भदौ २३ गते ९:५८     विकासन्युज

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन बुधबारदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकि छिन् ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् । गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।

आजको बैठकको सम्भावित कार्यसूची
आजको प्रतिनिधि सभाका लागि सम्भावित कार्यसूचीमा ३२ वटा कार्यक्रम छन्। यीमध्ये सबैभन्दा धेरै अध्यादेश छन्। जसमा सबैभन्दा पहिले गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश पेस गर्ने कार्यक्रम छ। त्यसपछि अन्य अध्यादेश छन्। ​यस्तै, नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृतिका लागि पनि प्रस्ताव पेश हुने छ ।

यसैगरी सपथ सम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी पहिलो संशोधन अध्यादेश, तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।