ओली भन्छनः एमाले विभाजनमा सभामुखकाे मुख्य भूमिका

  २०७८ भदौ २३ गते १४:२७     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भुमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताएका छन् ।

बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैर कानूनी काममा संलग्नता रहेको भन्दै आफुहरु सभामुखलाई निष्पक्ष रुपमा मानेर अगाडी बढ्न नसक्ने बताएका हुन ।

उनले सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा एमालेको गम्भिर प्रश्न रहेको उल्लेख गर्दै सभामुखलाई निष्पक्ष मानेर संसद चल्न नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका पूर्व एमालेका १४ जना सांसदलाई पार्टीबाट निष्काशन गरिएको भन्दै संसद बैठकमा ति गैर सांसदहरुको उपस्थिति आफुहरुलाई मान्य नहुने पनि बताए । सभामुखले कसैलाई सांसदबाट निष्काशन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उनले माधव नेपाल लगायतका सांसदहरु बैठकमा आउने भए रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका सांसदहरु पनि संसद बैठकमा आउन पाउनुपर्ने बताएका थिए ।

यस्तै ओलीले दार्चुलामा भारतिय पक्षले तुइनबाट खसालि जयसिंह धामीको मृत्यु भएको भन्ने छानविन समितिको प्रतिवेदन आइसक्दा पनि सरकारले यस विषयमा बोल्न रोक लगाएको भन्दै जनताको जिउधनको बारेमा बोल्न रोक लगाउने वर्तमान गठबन्धन सरकार भत्काउने पनि बताए ।

उनले संसदमा देशको सिंगो प्रणाली, लोकतन्त्र, देशको अस्तित्वको सम्बन्धमा छलफल केन्द्रीत हुने भन्दै मुलमुद्धामा मात्रै केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिए । आफुहरु गम्भिर राजनीतिक लडाइँमा रहेको भन्दै उनले संसदलाई एकलौटी खेल मैदान बन्न नदिने समेत बताएका थिए ।