२०७८ भदौ २५ गते १६:५० विकासन्युज
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार बारे संसदमा झुट बोलेका छन् । सेयर बजारबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफूबीच कुनै कुरा नभएको भनेर अर्थमन्त्री शर्माले झुट बोलेका हुन् ।
आज (शुक्रबार) प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग फोनमा कुरा नगरेको भन्दै झुट बोलेका हुन् ।
‘मैले गभर्नरसँग फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर, त्यो सत्य होइन,’ अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा भनेका छन् ।
तर, अर्थमन्त्री शर्माले यो विषयमा झुट बोलेका हुन् । गत भदौ २१ गते अर्थमन्त्री शर्माको सचिवालयबाट प्रेसित प्रेस विज्ञप्तिमा ‘सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्रालयको ध्यानाकर्षण भएको’ जानकारी दिएको थियो ।
यस्तो छ मन्त्रालयले पठाएको प्रेस विज्ञप्ति
पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौं, २१ भदौ
शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ ।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.