२०७८ असोज ४ गते १६:५७ विकासन्युज
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा संसदमा पेश गरिएको आर्थिक आयकर ऐन, २०५८ संशोधन प्रस्तावमा ट्रान्सपरेन्सी इन्टरनेश्नलले आपत्ति जनाएको छ ।
विभिन्न पूर्वाधारका क्षेत्रमा लगानी गर्दा ‘लगानीको आयस्रोत खोजिने छैन’ भन्ने व्यवस्था प्रस्ताव गरिएको भन्ने विषयमासंस्थाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ ।
संस्थाले अवैध धन वैधानिक बनाउने भित्री उद्देश्य लिई सो प्रस्ताव पेश गरेको आरोप पनि लगाएको छ ।
गैरकानुनी रुपमा मुलुकभित्र वा बाहिर उच्च राजनीतिक, प्रशासनिक र व्यावसायिक व्यक्तिहरुबाट भ्रष्टाचार वा कर छली गरी लुकाइएको कालो धन वैध बनाउन सहयोग पु¥याउने यो प्रस्ताव स्वीकृत भएमा यसले भ्रष्टाचारलाई प्रश्रय दिने, कर छली बढाउने, नियमित करदातालाई निरास बनाउने, कालो सम्पत्ति शुद्धीकरण तथा निर्मलीकरण हुन जाने र नितिगत भ्रष्टाचारको नमुना हुने विज्ञप्तिमार्फत जनाएको छ ।
यो कार्य नेपालको संविधानको भावना, अन्य कानुन र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय प्रतिवद्धताको विपरित पनि हुन जाने जनाएको छ । संस्थाले यस्तो प्रस्ताव तुरुन्त फिर्ता लिन सरकारका प्रमुख दल र तिनका साझेदार राजनीतिक दलहरुलाई माग गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.