एक महिनामा १० प्रतिशत बजेट खर्च हुने योजना बनाउँदैछुः अर्थमन्त्री

  २०७८ असोज ५ गते १८:२५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले मासिक १० बजेट खर्च गर्ने गरी तयारी गरिहरेको बताएका छन् । मंगलबार अर्थशास्त्र केन्द्रिय विभाग त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धि कार्यक्रममा अर्थमन्त्री शर्माले देशमा असारे विकास प्रवृतिको अन्त्य गर्नको लागि सरकारले मासिक १० प्रतिशत बजेट खर्च गर्ने गरी योजना बनाइरहेको बताएका हुन् ।

उनले विकासमा जनतालाई जोड्ने नीतिलाई सरकारले अगाडि बढाइरहेको बताउँदै वर्तमान पुँजीगत खर्च गर्ने प्रवृति फेर्ने प्रयास गरिरहेको बताएका हुन् ।

‘हामीले प्रत्येक महिनामा १० प्रतिशत बजेट खर्च गर्ने तयारी गरिरहेका छौं, एक महिनामा १० प्रतिशत बजेट खर्च गर्दा १० महिनामै शतप्रतिशत बजेट खर्च हुन्छ, १२ महिना अगाडि नै बजेट खर्च हुन्छ, अब हामीले असारे विकासको अन्त्य गर्नु पर्छ,’ उनले भने ।

यस्तै, उनले देशको सम्भावनालाई व्यवस्थापन गर्ने गरी नीति बनाउनु पर्ने बताए । उनले विदेशी लगानीलाई पनि सरकारले सधैँ स्वागत गर्ने नीति बनाउने प्रतिवद्धता गरे ।

‘हामी आफै विकासका बाधक हौं, हामीले नै विकास गर्न दिएका छैनौं, असारे विकासमै हामी केन्द्रित छौं, सोही अनुसार भुक्तानी हुन्छ, अब सबै मिलेर सो प्रवृतिको अन्त्य आवश्यक छ,’ उनले भने ।

यस्तै, उनले उत्पादनमा आधारित अर्थतन्त्रमा ध्यान दिनु पर्ने बताए । उनले उद्योगभन्दा पनि ट्रेन्डका आधारमा अर्थतन्त्र चलेको बताउँदै त्यसमा सुधार गर्नु पर्ने धारणा पनि राखे ।

‘सेयरबजार बोलेर घट्दैन’

अर्थमन्त्री शर्माले सेयर बजारका लगानीकर्ताले सेयर बजार घटेको प्रति आफुमाथि आरोप लागेको बताए । उनले धेरै लगानीकर्ताले आफुमाथि बजार घटेको आरोप लागेको बताउँदै त्यस्तो नगर्न पनि आग्रह गरे ।

‘मैले यसअघि सीएहरुको कार्यक्रममा सेयर बजारको बारेमा थोरै बोलेको थिएँ, तर मैले बोलेकै कारण सेयर बजार घटेको ममाथि आरोप लाग्यो, के मन्त्री बोल्ने बित्तिकै सेयर बजार घट्ने हो र ? उनले उपस्थितहरुसँग प्रश्न ।’

उनले सेयर बजारभित्र कसले कसले के गरिरहेको छ भन्ने विषयमा अध्ययन नगरी अर्थात थाहै नपाई कसैमाथि आरोप लगाउन नहुने बताए । सेयर बजारभित्र के कस्तो भइरहेको छ? कसले के गरिरहेको छ भनेर थाहा पाउनु पर्छ, तर, यहाँ कसले के गरिरहेको छ के थाहा,’ उनले भने ।