२०७८ असोज ६ गते ११:५८ विकासन्युज
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन् । खड्काले आजै दिउँसो १ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए । विसं २०७० मा खड्का सहरी विकास मन्त्री थिए भने उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् ।
खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका छन् ।
विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित भएका उनी २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
सोही स्थानबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित डा खड्का अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य हुन् । विसं २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका सल्लाहकार थिए । उनले २०५७ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन् ।
राजनीतिक आन्दोलनका क्रममा काठमाडौं र विराटनगरमा पटकपटक पक्राउ परेका उनी विभिन्न समयमा पाँचपटक जेल पनि परेका थिए ।
राजनीतिसँगै अध्ययन र समाजसेवमा विशेष रुचि राख्ने मन्त्री खड्का चार दशकदेखि राजनीतिमा सक्रिय छन् । उनी संविधानसभा पदकलगायत विभिन्न पदकबाट सम्मानित भइसकेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.