भाेलीसम्ममा मन्त्रीपरिषदले पूर्णता पाउँछ: प्रचण्ड

  २०७८ असोज ६ गते १८:०४     विकासन्युज

काठमाडाैं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बिहीबार (भोली) सम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन् ।

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेशका कारण ढिलाई भएको मन्त्रीपरिषदलाई पूर्णता दिने काम बिहीबारसम्म भईसक्ने बताएका हुन् ।

पार्टी अध्यक्षले वर्तमान राजनीतिक परिस्थितिको बारेमा पार्टीमा रिर्पोटिङ गर्दै भोली बिहीबारसम्म मन्त्रीपरिषदलाई पूर्णता दिईसक्ने बताएकाे पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ । प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढंगले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिए ।

माओवादी केन्द्रले पार्टीको केन्द्रिय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । पौडेल यस अघि पनि सो पार्टी केन्द्रिय कार्यालयको सचिवको जिम्मेवारीमा रहेका थिए ।