जोरपाटी सुन्दरीजल सडकको हरिबिजोग, ५ वर्षमा सात किलोमिटर पनि बनेन

  २०७८ असोज ७ गते १२:३३     विकासन्युज

काठमाडाैं । जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर हालसम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन । काठमाडौं सडक विस्तार आयोजनाद्धारा निर्माण गरिने उक्त सडक आयोजना समयमै निर्माण नहुदा स्थानियबासीले सास्ती बेहोर्नु परेको छ ।

पाँच वर्ष सम्म सडक काम नलाग्ने गरि तहसनहस भएको छ।पानी परे हिलाम्मे घाम लागे धुलाम्मे, यो सडकको कारणले स्थानीयको स्वास्थ अवस्था र दैनिक जनजीवनमा गम्भीर प्रभाव पारेको छ।अहिले पानी परेको बेला सवारीसाधन चिप्लिएर दुर्घटना हुने जोखिम उत्तिकै छ ।

मानिसहरु त पैदल हिड्ने चान्सै छैन । लाग्छ उक्त सडक कुनै दुर्गम गाउँ तिरको जस्तो । तर पनि राजधानी काठमाडौंको यस्तो लाजमर्दो अवस्थाको अन्त हुने अझै छाटकाट छैन । विगतमा विविध प्राविधिक कारणले सडक निर्माण ढिलाइ भएपनि पछिल्लो समय निर्माण कम्पनी, विद्युत प्राधिकरण र स्थानीय वडा सरकारका कारणले यस्तो भएको स्थानीयहरु बताउँछन् ।

वडा अध्यक्षले यस्तो गम्भीर समस्यामा जनताले अनुभुती गर्ने गरी पहल नगरेको स्थानीयको गुनासाे छ ।

आयोजनाले २२ मिटरको सडक विस्तार गर्न थालेपछि स्थानियले मुआब्जा र क्षतिपुर्तीको माग गर्दै आन्दोलन गरी सर्वोच्चमा मुद्दा हालेका थिए । त्यसपछि सर्वोच्चले स्थानियलाई क्षतिपुर्ती नदिएर आयोजना अगाडी नबढाउन आदेश गरेको थियो । तर सम्बन्धित पक्षले क्षतिपुर्ति नदिएपछि आयोजना थप प्रभावित भयो । गोकर्णेश्वर नगरपालिकाको समन्वयमा सडक १४ मिटरमा विस्तार गर्ने स्थानियका कुनै पनि भौतिक संरचनाहरु नभत्काउने जस्ता सहमति भएपछि निर्माण कम्पनीले काम सुरु गरेको थियो । तर उसले वर्षा, निषेधाज्ञा जस्त अनेक कारण देखाउँदै हाल सम्म पनि काम पुरा गरेको छैन ।

नगरपालिका र सडक संर्घष समितिले सहमति गरेपनि कामको गति भने अपेक्षा गरेअनुसार अगाडी बढन सकेन । सडकको हालत खाल्डाखुल्डीमा परिणत छ । कतै कतै गिट्टीहरु थुपारिएका छन् । करिब ६९ करोडको लागतमा बन्न लागेको उक्त सडक आयोजना समयमै सम्पन्न हुन नसक्दा सडक हिलाम्मे भएर पैदल यात्रु तथा सवारी साधनलाई कष्टकर हुने गरेको छ ।

स्थानिय प्रल्हाद भण्डारीका अनुसार निर्माण कम्पनीको सम्झौता सकिए पनि पटक पटक थप भएको छ। ‘अहिले सडक अस्तवयस्त छ,ढलको उचित व्यवस्थापन छैन,पानी छताछुल्ल छ ,यसमा सम्बन्धित पक्ष संवेदनशील हुनुपर्छ,’ भण्डारी भन्छन् ।

आशिष सिएम जेभी कम्पनीका प्रतिनिधीका अनुसार विविध लफडाका कारण आफुहरुले एक वर्ष मात्रै काम गर्न पाएको बताए । ‘अहिले पनि काम गर्न चुनौति छ, विद्युत प्राधिकरण र दुरसंचारले पोलहरु हटाउन ढिला गरेपछि काममा अवरोध भएको छ । त्यहि पनि काम भइरहेको कम्पनीको दाबी छ । अहिले वर्षातको कारणले कालोपत्रे नगरिएको हो, अब पानी रोकिने बित्तिकै हामी कामलाई गति दिने छौ,’ कम्पनीका एक प्रतिनिधिले भने ।