२०७८ असोज ९ गते १४:५१ विकासन्युज
राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ ।
शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो ।
महासंघले हेमोफिलिया भएका व्यक्तिहरु अपांगताको ऐनभित्र परेको र अपांगता भएकाहरुको सूचिको दशौं नम्बरमा उल्लेख गरिएको भन्दै गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन अनुरोध गरेको छ । त्यस्तै यसबारेमा गणकहरु पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ । महासंघका महासचिव दिपक न्यौपानेले बास्तविक तथ्यांक समेट्न तथा गणक र सुपरिवेक्षकहरुलाई आवश्यक तालिम उपलब्ध गराउन माग गरे ।
हिमोफिलिया अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुनगई रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनि सरकारले परिभाषा गरेको छ ।
हेमोफिलिया भएको व्यक्तिमा कुनैपनि कारणले आन्तरिक वा बाह्य रक्तस्राव भयो भने रगत नथामिने हुने, रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरुले बताउने गरेका छन् ।
विश्व हिमोफिलिया महासंघको तथ्यांक अनुसार प्रति ५ हजार पुरुष जन्ममा १ जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् । नेपालमा करिब ३ हजार हिमोफिलियायुक्त व्यक्ति रहेको अनुमान गरेको र हिमोफिलिया सोसाइटी नेपाल मार्फत् हालसम्म ७ सय ५० जना हिमोफिलियायुक्त व्यक्तिको पहिचान भएको बताइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.