२०७८ असोज ९ गते १६:१२ विकासन्युज
काठमाडाैं । विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो ।
युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साईकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए ।
उनले आफूहरुले नेपाल स्काउटलाई स्थापित संस्थाको रुपमा विकास गर्न सफल भएको दावी समेत गरे । काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा बीच सो साईकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको पनि बताए ।
साईकल यात्रामा निस्केकाहरुले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टि सर्ट प्रर्दशन गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.