खाद्यान्न वितरण अभियान सम्पन्न

  २०७८ असोज ९ गते १६:२६     विकासन्युज

काठमाडाैं । लकडाउनले खोसेको जागिर । परिवारमा आम्दानी शून्य । घरबेटीले भाडाका लागि गरेको सधैँको किचकिच । अनि खानेकुरा नभएर बालबालिका भोकै सुत्नुुको पीडा । सुन्नेको मन चसक्क हुन्छ, भोग्नेलाई कस्तो होला ? विभिन्न जिल्लाबाट रोजगारीको सिलसिलामा आएका विपन्न मजदुर वर्गको कोरोनाकालको दैनिकी हो यो ।

मजदुर वर्गको यहीँ पीडालाई प्रत्यक्ष नियालेपछि दुखेको मनलाई शान्त पार्न निःशुल्क खाद्यान्न वितरणमा लागे सम्पदा संरक्षणकर्मी एवं सम्पदाविद् रवीन्द्र पुरी ।

“कोभिड–१९ को महामारी सुरु भएसँगै धेरैको रोजीरोटी खोसियो, अनि दैनिक ज्याला मजदुरी गर्न मोफसलबाट उपत्यका छिरेका धेरै मजदुर र तिनका कलिला लालाबालाको गाँस खोसियो,” सम्पदा संरक्षणको देशव्यापी अभियानमा खटिनुभएका भक्तपुर नागपोखरी निवासी आरपी फाउन्डेसनका अध्यक्ष रवीन्द्र पुरी भन्छन्,  “जब विपन्न मजदुरका बालबालिका भोकै सुतेको देखेँ, तब मेरो मन साह्रै दुख्यो, कहाली लाग्यो, अनि त्यसको भोलिपल्टदेखि नै सुरु गरे खाद्यान्न वितरण ।”

आरपी फाउन्डेसनको आयोजना तथा जर्मनको ‘सुलरहिल्फे फियुर नेपाल जर्मनी’ को सहयोगमा टफिल प्रोजेक्ट को खाद्यान्न वितरण कार्यक्रमअन्तर्गन २०७८ साल वैशाख १६ गतेदेखि सुरु गरेको खाद्यान्न वितरण अभियान पाँच महिनामा आज सम्पन्न भएको छ ।

फाउन्डेसनले वैशाख १६ गतेदेखि यहीँ असोजसम्मका लागि पाँचजनासम्मको परिवारलाई पुग्ने गरी २७० मजदुर परिवारलाई महिनाका दुईपटकका दरले चामल, दाल, नुन, चिउरा, तेल र चिनी वितरण गरेको फाउन्डेसनका अध्यक्ष पुरीले जानकारी दिए । भक्तपुरमा रोजगारीको खोजीमा रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सुन्धुलीलगायतका जिल्लाबाट आएका र भक्तपुरका स्थानीय गरिब मजदुर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको उनले जानकारी दिए ।

एउटै घरको एउटा कोठामा कोही अघाउने, अर्को कोठामा कोही भोकै भएको अवस्था धेरै देखिएको बताउँदै उनले स्थानीय तहले वडावडामा फुड बैंक स्थापना गरे आरपी फाउन्डेसन खाद्यान्न सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

गत वर्षको कोरोना महामारीको पहिलो लहरमा पनि आरपी फाउन्डेसनले भक्तपुरका अस्पताहरु, धुलिखेल अस्पताल र बाहिरी जिल्लाका केही अस्पताललाई पिपिई, मास्क र स्यानिटाइजर वितरण गर्दै स्थास्थ्यकर्मीको हौसला बढाएको थियो ।

पनौतीमा फुड बैंकलाई र अन्य संस्थालाई वितरणका लागि सयौँ बोरा चामल वितरण गरेको थियो । गत वर्ष कोरोना जोखिम कम गर्नका लागि करिब एक लाखभन्दा बढी व्यक्तिका लागि इम्यिुनिटी पावर बढाउने होमियोप्याथीको औषधि निःशुल्क वितरण गरेको थियो । रासस