२०७८ माघ ११ गते १२:५९ विकासन्युज
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ ।
सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएका छन् ।
अघिल्लो दिन सोमबार विहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका थिए । आइतबारको तुलनामा सोमबार दैनिक सङ्क्रमितहरुको सङ्ख्या २७ हजार ४६९ ले घटेको थियो ।
भारतमा अहिले कोरानाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिले एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ । रासस/एएनआई
Copyright © 2025 Bikash Media Pvt. Ltd.