२०७८ फागुन ५ गते ११:५२ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यका भित्रै मोबाइल फोन सेवाको गुणस्तर कमजोर रहेको पाइएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण रिपोट अनुसार कुनै पनि सेवाप्रदायक कम्पनीले गुणस्तर कायम नगरेको पाइएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवा प्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो ।
तीन टेलिकम कम्पनीहरुको नेटवर्कभित्र प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिनको अवधिमा कल लाग्ने समय र कल स्थापित हुन लाग्ने दरको परीक्षण गरेको थियो ।
प्राधिकरणले बुधबार सार्वजनिक गरेको परीक्षण रिपोट अनुसार कल स्थापना हुने लाग्ने समय र कल स्थापना हुने सफलताको दरमा अन्य दुई सेवाप्रदायक कम्पनीभन्दा अगाडी एनसेल देखिएको छ ।
उक्त परीक्षणमा भ्वाइस कलका लागि तोकिएको मापदण्ड नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले पूरा नगरेतापनि टेलिकम र स्मार्ट भन्दा अगाडी एनसेल देखिएको हो ।
परीक्षणअनुसार कल सम्पर्क सफल हुने दरमा तीनै सेवा प्रदायक असफल भएका छन् । प्राधिकरणले कल सम्पर्क हुने दर ९९.९९ प्रतिशत तोकेकामा एनसेलको औसत दर ९२, टेलिकमको ८९ र स्मार्ट टेलिकमको ७२ प्रतिशत रहेको छ ।
यस्तै, कल सम्पर्क हुने समय पूरा गर्न पनि तीनवटै सेवा प्रदायक असफल छन् । पाँच सेकेन्डभन्दा कम समयमै कल सम्पर्क हुनुपर्ने मापदण्ड रहेकामा एनसेलको औसत दर ६.२४, टेलिकमको ९.३२ सेकेन्ड र स्मार्ट टेलिकमको ११.५४ सेकेन्ड रहेको छ ।
कल ब्लक दर २ प्रतिशतभन्दा कम हुनुपर्नेमा तीनवटै सेवा प्रदायकको यस्तो दर बढी नै देखिएको छ । जसमा एमसेलले औसतमा ८ प्रतिशत, नेपाल टेलिकमको ११ प्रतिशत र स्मार्ट टेलिकमको २८ प्रतिशत देखिएको छ ।
कल सम्पर्क विच्छेद हुने दर (कल ड्रप) २ प्रतिशतभन्दा कम हुनुपर्नेमा एनसेलले भने मापदण्ड पालना गरेको पाइएको छ । कल ड्रप दर औसतमा १.१८ प्रतिशत हुनुपर्नेमा एनसेलको १.१८ प्रतिशत रहेको छ । नेपाल टेलिकमको ४.३८ प्रतिशत र स्मार्टका १० प्रतिशत रहेको छ ।
प्राधिकरणले परीक्षण गर्दा चलायमान सवारीसाधनमा जडान गरिएको परीक्षण उपकरणबाट लगातार फोनकल वा डेटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य सेवा मानकहरुको तथ्यांक संकलन गरेको जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.