२०७९ जेठ १५ गते १५:०८ विकासन्युज
काठमाडौं । साहुको रिक्सा चलाउँदै आएका बिराटनगरका ह्याप्पी पासवानले अब आफ्नै रिक्सा चलाउने भएका छन् । विगत तीन वर्षदेखि साहुको रिक्सा भाडामा चलाउँदै आएका पासवानले अबदेखि भने आफ्नै चलाउने भएका हुन् ।
पासवानलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सिटी रिक्सा उपलब्ध गराएको हो । संस्थाले रानी शाखा कार्यालयअन्तर्गतको सदस्य पानोदेवी पासवानको श्रीमान् ह्यापी पासवानलाई उक्त सहयोग गरेको हो ।
संस्थाको शाखा कार्यालय रानी, जिल्ला कार्यालय मोरङ्ग र केन्द्रीय कार्यालय कटहरीको संयुक्त पहलमा पासवानलाई नयाँ सिटी रिक्सा उपलब्ध गराइएको हो । उनलाई किस्तामा सो रिक्सा उपलब्ध गराईएको संस्थाका सिनियर अफिसर मनोज कुमार शर्माले बताए ।
‘पासवानलाई स्वरोजगार बनाउने उद्देश्यले हामीले नयाँ सिटी रिक्सा उपलब्ध गराएका हौं,’ शर्माले भने ।
संस्थाले उनलाई २ लाख ६५ हजार रुपैयाँमा मासिक किस्तामा मासिक सिटी रिक्सा प्रदान गरेको हो । सो वापत पासवानले दैनिक ३०८ रुपैयाँ र २८ दिनको किस्तामा ८ हजार ६४९ रुपैयाँ तिर्नुपर्ने संस्थाले जानकारी दिएको छ ।
यससँगै उनले साहुलाई तिर्दै आएको रकममा मासिक ९ हजार ३५१ रुपैयाँ बढी बचत हुने देखिन्छ । विगत ३ वर्षदेखि साहुको रिक्सा चलाउँदै आएका पासवानले दैनिक ६०० रुपैयाँको दरले मासिक १८ हजार रुपैयाँ साहुँलाई बुझाउँथे । सो अनुसार उनले रिक्सा चलाएवापतको भाडास्वरुप हालसम्म ६ लाख ४८ हजार रुपैयाँ बुझाइसकेका छन् ।
साथै, संस्थाका अनुसार उक्त रिक्सा ३ वर्षमा पासवान दम्पत्तीको नै हुने संस्थाले जनाएको छ ।
‘साहुको रिक्सा चलाउँदा दैनिक ६०० रुपैयाँ तिर्नुपर्थ्यो, अब त्योभन्दा कम तिरे पुग्छ, किस्ता कम भएपछि बचत पनि बढ्छ,’ खुशी हुँदै दम्पत्ति पासवानले भने- ‘र, तीन वर्षमा त आफ्नै हुन्छ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.