बैंकहरूलाई ‘क्लोजिङ’को चटारो, २४ दिनमा ९४ अर्बले निक्षेप बढाउँदा १९ अर्बले घट्यो कर्जा

  २०७९ असार २८ गते १४:५६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब चार दिन मात्रै बाँकी छ । बैंक तथा वित्तीय संस्थाहरु हिसाब–किताब मिलानमा व्यस्त छन् । बैंकहरु असार मसान्तमा सबै हिसाबकिताब गरेर चालु आर्थिक वर्षको वित्तीय विवरण ल्याउने तरखरमा छन् ।

नेपाल राष्ट्र बैंकले गरेको नियामकीय व्यवस्थालाई अवलम्बन गर्दै नाफा पनि नघट्ने किसिमले बैंकरहरु काम गरिरहेका छन् । कतिपय बैंकहरुले गल्ति गरेकै भएपनि नियामकीयको दृष्टिकोणमा गलत नदेखिन हिसाब–कताव मिलाएर सबै ठिकठाक पार्ने रणनीतिमा लागिरहेकपनि बुझिएको छ ।

यसअघि उल्लेख्य रूपमा निक्षेप संकलन गर्न नसकिरहेका वाणिज्य बैंकहरुले असारमा भने उल्लेख्य रुपमा निक्षेप संकलन गरेका छन् । लामो समयदेखि तरलताको अभाव भोगिरहेका वाणिज्य बैंकहरुले असार महिनाको २४ दिनमा करिब १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ९४ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो ।

जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४४ खर्ब रुपैयाँ मात्रै थियो । एक साता अगाडि मात्रै बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३२ अर्ब रुपैयाँ थियो । तर, असार चौथो साता अर्थात २४ गते सम्म भने ६२ अर्ब रुपैयाँले बढेको हो ।

यस्तै वाणिज्य बैंकहरुको कर्जा लगानी भने एक महिनामा १९ अर्ब रुपैयाँले घटेको छ । गत जेठ मसान्तसम्म कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले असार चौथो सातासम्म कुल ४१ खर्ब ७४ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । यस्तै, एक सातामा वाणिज्य बैंकहरुको कर्जामा १० अर्ब रुपैयाँ गिरावट देखिएको छ ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.५७ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने व्यवस्था गरेको छ । आधा दर्जन बैंकहरुलाई भने ९० प्रतिशतको सीडी रेसियो कायम गर्न चुनौति नै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.