विराटनगरमा होटल र्याडिशन खुल्दै, तीन अर्ब लगानीमा सुपरमार्केट पनि

  २०७९ साउन ९ गते १९:०७     विकासन्युज

काठमाडौं । विराटनगरमा पनि पाँच तारे होटल र्याडिशन खुल्ने भएको छ । यसबारे अन्तराष्ट्रिय चेन र्याडिशन होटल ग्रुप र सेञ्चुरियन होटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोतिलाल दुगड  र र्याडिशन होटल ग्रुप, साउथ एशियाका प्रबन्ध निर्देशक जुविन साजेनाले हस्ताक्षर गरेका छन् । साेमबार काठमाडाैंकाे हाेटल र्याडिशनमा  उक्त समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।

उक्त होटल १४० कोठाको हुनेछ । होटलमा  स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बेन्क्युट, क्यासिनोको सुविधा पनि उपलब्ध हुनेछ ।

होटल अबको १८ महिनापछि अर्थात सन् २०२४ को जनावरीबाट सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।

नेपालको औद्योगिक राजधानी भनेर चिनिने विराटनगरमा पाँच तारे होटल खुल्दा त्यसको क्षेत्रका व्यवसायी र देश विदेशबाट आउने पर्यटक लाभान्वित हुने अध्यक्ष दुगडले बताए । ‘एक नम्बर प्रदेश भ्रमणमा आउने पर्यटक र यस क्षेत्रका मानिसहरुलाई उच्चस्तरको  सेवा दिने योजनाका साथ हामीले काम अगाडि बढाएका छौं । यसमा विश्व प्रशिद्ध चेन होटल र्याडिशनलाई भित्र्याउन पाउँदा हामीलाई खुशी लागेको छ’ दुगडले भने ।

विराटनगरमा दुर्त गतिमा विस्तार हुँदै गरेको सडक, विमानस्थल, सामूदायिक परियोजना, सरकारी तथा निजी लगानीको ठूला संस्थाहरु खुल्दै गरेको, विराटनगर एक नम्बर प्रदेशको केन्द्रमा रहेको, यस प्रदेशको सबैभन्दा ठूलो बजार पनि भएकोले यस क्षेत्रमा पाँच तारे होटल आवश्यक भएको उनले बताए ।

विराटनगर एयरपोर्टबाट ४.२ किलोमिटर, जोगवनी रेलवे स्टेशनबाट १५ मिनेटको दुरी र भारतको सीमाबाट जम्मा ८.६ किलो मिटर दुरीमा अवस्थित यो होटलमा आउन भारतीय पर्यटक तथा व्यवसायीहरुको लागि पनि सहज  भएकाे बताइएको छ ।

उक्त होटल सेन्चुरियन मलमा रहने छ । साढे एक विगा जमिनमा बन्दै गरेको यस महलमा सपिङ सेन्टर, कर्पोरेट अफिस, मनोरञ्जनस्थल, केएफसी तथा पिज्जाहट लगायतका सुविधा समेत उपलब्ध हुनेछन् ।

मल निर्माणमा करिव ३ अर्ब लगानी हुने, त्यसमा ४० प्रतिशत सेयर पुँजी हुने र ६० प्रतिशत बैंकको कर्जा लगानी हुने बताइएको छ ।

रेडिसन होटल अन्तर्राष्ट्रिय चेन होटल हो रेडिसन अन्तर्गत संसारका १२० देशमा १७०० भन्दा बढी होटल सञ्चालनमा छन् । सेञ्चुरी ग्रुप अफ कम्पनी अन्तरगत विभिन्न उद्योग तथा व्यापारिक कम्पनीहरु छन् । यस ग्रुपका अध्यक्ष दुगड पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार, पूर्व उद्योग तथा वाणिज्य राज्य मन्त्री र सांसद पनि हुन् ।