२०७९ असोज ३० गते १८:२२ विकासन्युज
काठमाडौं । होटलहरुको छाता संगठन होटल संघ नेपालले होटलहरुले तत्काल बैंकको ब्याज तिर्न नसक्ने बताएको छ । संघले एक विज्ञप्ति मार्फत अहिलेको परिस्थितिमा बैंकको ब्याज तत्काल तिर्न नसक्ने बताएका हुन् ।
‘अहिलेको परिस्थितिमा हामीले लिएको सावाँको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई सावाँ ब्याज बुझाउन असक्षम छौं, सावाँ ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने हाम्रो जोडदार माग रहेको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ ।
साथै, संघले कर्जा तिर्ने समय सीमा नबढाए होटल व्यवसाय बन्द गर्नेमा पुग्ने समेत बताएको छ ।
‘सावाँ ब्याज बुझाउने समयसीमा बढाइ कम्तीमा पनि २ वर्षका लागि पुनतालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गर्नु आवश्यक छ, हालको बढ्दो ब्याजदरले होटल जस्तो अत्यन्त संवेदनशील उद्योग धान्नै नसकिने भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गर्नुपर्छ,’ संघले भनेको छ ।
विश्वव्यापी कोरोना महामारीको असर समाधान नहुँदै देखिएको रसिया-युक्रेनको जारी युद्धको प्रभाव, नेपालमा तीव्र रुपमा फैलिरहेको डेंगीको प्रकोपले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्याएको संघको भनाई छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.