२०७९ कार्तिक १६ गते १७:२९ विकासन्युज
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) निर्वाचित भए पश्चात् नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डे नियुक्त भए । दुई दशक नगर प्रहरी भएर काम गरेका पाण्डेले अहिले महानगरको सुरक्षाको जिम्मेवारी सम्हालिरहेका छन् । अहिले धेरैले पाण्डेलाई मेयर बालेनले रुचाइएको पात्रका रुपमा चिन्छन् । अहिले काठमाडौं महानगरको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि पाण्डे रातदिन खटिरहेका छन् । बालेनसँगै काम गरेपछि उनको चर्चा पनि चुलिएको छ । जन प्रशासनमा स्नातकोत्तर गरेका पाण्डे अहिले काठमाडौंको अनाधिकृत संरचनासँगै फुटपाथ हटाउनका लागिरहेका छन् । उनै पाण्डेसँग समग्र काठमाडौं महानगरको सुरक्षा व्यवस्था, काठमाडौंकको अनधिकृत संरचना हटाउनेदेखि फुटपाथ व्यवस्थापन लगायतका विषयमा विकासन्युजका राजिव न्यौपाने र रिसव चौधरीले कुराकानी गरेका छन् ।
केही समय अगाडि मेयर बालेन साहसहित नगर प्रहरी पनि अनधिकृत संरचना हटाउन व्यापक रूपमा लाग्नु भएको थियो, अहिले सो विषय किन सेलायो ?
त्यो विषय सेलाएको भन्न मिल्दैन । यो बिचमा दशैं तिहार र छठ लगायतका चाडपर्व परे । यो बीचमा धेरै सार्वजनिक विदा पनि पर्यो । सार्वजनिक बिदा भएको कारण पनि अनधिकृत संरचना हटाउन रोकेका हौं । सार्वजनिक आवागमनमा अवरोध र अवैध संरचना विषयमा महानगरले विधिगत तरिकाले काम गरिरहेको छ । अनधिकृत संरचनाको तथ्याङ्क आई निर्णय तहमा पुगेपछि प्राथमिकताको श्रेणी बनाएर हटाउने काम गरिरहेका छौं । यो काम निरन्तर अगाडि बढ्दै जान्छ । महानगरले गरेको निर्णयलाई कार्यान्वयन गर्दै जाने हामी नगर प्रहरी हौं । अब चाडपर्व पनि सकिएको छ । कानुनको पालना नगर्नेलाई कानुनको दायरामा ल्याउँछौं । अब पुनः हामी एक्सनमा जान्छौं ।
अहिले के कस्ता काम भइरहेका छन् ?
सामान्यतः हामीले दशैं तिहारमा सार्वजनिक आवागमन जहाँ मानिसहरूको बढी भिड भाड हुन्छ, त्यस्ता ठाउँलाई पहिलो प्राथमिकता दिएर काम गर्यौं । पहिला पर्व लागेसँगै किनमेल गर्न असन लगायतका ठाउँमा आउँने चाप बढी हुन्थ्यो । फुटपाथमा राखिएको सामानका कारण नागरिकहरूको आवागमनमा समस्या हुन्थ्यो । यस वर्षको पर्वमा साना तिना पसलहरू राख्न दिएनौं । चोक चोकमा नगर प्रहरीहरू पनि परिचालन गर्यौं । अहिले पनि फुटपाथ व्यवस्थापन लगायतका कामहरू भइ रहेका छन् ।
टुकुचा खोलाको विषय पनि व्यापक रूपमा चर्चामा आएको थियो, अब त्यो विषय ओझेलमा परेको हो ?
टुकुचा खोलाको विषय बारे महानगरको शहरी विकास विभागले हेर्छ । हामीले निर्णय कार्यान्वयन गर्ने हो । शहरी विकासको नेतृत्वमा इन्जिनियर कर्मचारीहरू खटिएर नाप जाँच गर्नु भएको थियो । त्यसको सर्पोटिङ भूमिका हामी प्रहरीले गर्ने हो । त्यसैको सिलसिलामा हामी त्यहाँ खटिएका थियौं । सम्बन्धित क्षेत्रका पदाधिकारीहरूलाई यसको जानकारी छ ।
काठमाडौंमा फुटपाथको समस्या पहिले देखिको नै हो, यसको व्यवस्थापन किन गर्न नसकेको ?
पहिलो कुरा फुटपाथ हिँड्ने ठाउँ हो । पसल राख्ने ठाउँ होइन । मसँग यसको उत्तर छ । धेरै मान्छेले यसलाई अनुत्तरित प्रश्न भन्छन् । म सोच्छु एउटा सडकमा कति गाडी गुड्छन् ? दैनिक रूपमा हेरौं । अनि कुनै पनि सडकपेटीमा कति मानिस दैनिक रूपमा आवतजावत गर्छन्, त्यो कुरा पनि नियालौं । आवतजावत गर्ने अधिकारलाई लाई हटाएर लाखौं, हजारौं संख्यामा नागरिक हिँड्ने फुटपाथलाई अवरोध गरेर पसल राख्ने कुरा कहाँसम्म जायज हुन्छ ? हिँड्न पाउन अधिकारलाई हनन् गरेर पसल राख्ने कुरा आफैमा जायज कुरा हैन । यो सबैले बुझ्नु पर्ने कुरा हो । फुटपाथका व्यापारीलाई एक ठाउँमा लगेर व्यवस्थापन गर्ने कुराहरू आइरहेका छन् । तर, काठमाडौंमा अहिले जग्गा पाउन समेत मुस्किल रहेको अवस्थामा उनीहरूलाई कहाँ लगेर व्यवस्थापन गर्ने ? काठमाडौं यो घनाबस्तीमा कतै पनि खाली ठाउँ छैन । घर अगाडि फुटपाथमा पसल बस्यो, हिँड्ने ठाउँमा पसल राखिदिएका कारण आवागमनमा मुस्किल भयो भनेर दिनमा यहाँ सयौंको संख्यामा फोन आइरहेको हुन्छ । हामीले सकेसम्म फोन आएको १० देखि १५ मिनेट पुगेर हटाइरहेका छौं ।
सीमित जनशक्तिको कारण सतप्रतिशत त नभनौं प्राथमिकताको आधारमा कहाँ बढी भिड हुन्छ । त्यस्ता ठाउँमा गएर सूचना पाएको आधारमा अनुगमन गर्छौं । सडक यातायातको लागि हो, पेटी हिँड्नको लागि हो । हाम्रो मापदण्ड त्यो नै हो । मापदण्ड भित्र रहेर हामीले काम गर्नु हाम्रो कर्तव्य हो । व्यापारीलाई २०५० साल भन्दा अगाडि पनि खुल्ला मञ्चमा थिए । त्यहाँ बाट हटाएर भृकुटीमण्डपमा लगेर राखियो । तर, फेरी त्यस्तै निस्किए । मान्छेको घर तथा जग्गा छ । तर, पनि २० औं वर्षदेखि फुटपाथमा व्यापार गर्न छाडेको छैन । सम्पन्न परिवार छ तर पनि फुटपाथमा व्यापार गर्न छाड्दैनन् । त्यस्ताको तथ्यांक हामीसँग प्रशस्त मात्रामा उपलब्ध छन् । सायद ठाउँ भएको व्यवस्थित हुन्थ्यो होला । ठाउँ नै छैन । अहिले धेरै ठाउँका फुटपाथका पसलहरू हटाइसकेका छौं । अहिले नगर प्रहरीहरू चोक–चोकमा खटिएका छन् । नगर प्रहरी जाने बित्तिकै सो ठाउँमा आएर पसल राख्ने प्रवृति अझै छ । हामी त्यही सामानहरूलाई जफत गरिराखेका छौं । नियम अनुसार हामीले सोही सामानलाई जफत गर्छौं । हामी कुनै पनि हालतमा सार्वजनिक अवरोध हुने गरी सडक र पेटी अतिक्रमण हुन दिदैनौं ।
फुटपाथमा व्यापार गरिरहेका सामान खोसेर यसको दिगो व्यवस्थापन हुन्छ ?
यसलाई खोस्ने भन्दा पनि हटाइएको भन्छन् । त्यसलाई हामी हटाएर जफत नै गर्छौं । जफत गरेर कार्यालयको नियम अनुसार स्टोर दाखिला गर्छौं । दाखिला गरी सकेपछि नियम अनुसार लिलाम प्रक्रियामा जान्छ । लिलामबाट आएर राखेको रकम राजश्वमा राखिएको हुन्छ । कसैले पनि फुटपाथमा पसल नराखे हटाउनु पर्दैन थियो । दिगो समाधान पनि हुन्थ्यो । तत्काल कुहीने तरकारी तथा फलफूल जरिवाना लिएर छोड्छौं । आज हामीले सामान खोसी दिन्छौं, भोलि त्यही व्यापारी पुनः सामान लिएर बस्छ । अब फुटपाथमा हैन, पसल सटरमा सार्नु पर्याे ।
महानगर बजार अनुगमनमा पनि सक्रिय देखिन्छ, अनुगमनको क्रममा के कस्ता सामानहरू भेटिन्छन्, म्याद नाघेका सामान कतिको भेटिन्छन् ?
बजारमा सामान अनगिन्ती छन् । कर तिर सटरमा राखेका सामान र त्यही सामान फुटपाथमा पनि राखेका छन् । बजार अनुगमन अनेकौं देखिन्छ । कसैले गुणस्तरहीन सामान पनि राखेका पाइन्छ । त्यस्तो सामानको नष्ट गर्नुका साथै जरिवाना समेत गरिरहेका हुन्छौं । उपभोक्ताले पनि नहेरीकन सामान किन्छन् र आफै ठगिन्छन् । ठल्ठूला मासु पसलमा सरसफाइको पनि कमि देखियो । अनुगमनको काम पनि निरन्तर चल्छ । हामीले गर्नु पर्ने काम हामी गरिरहन्छौं ।
काठमाडौंमा अण्डरग्राउण्ड पार्किङको समस्या समाधान भएको होकि महानगर थाकेको हो ?
महानगर थाकेको छैन । समस्या पनि समधान भएको छैन । अण्डरग्राउण्ड पार्किङ नभएको ठाउँमा कतिपयले र्याम बनाइ रहनु भएको छ । नियमित रुपमा हामी जे काम गर्छौं । त्यसको प्रगति के भइरहेको छ त्यो पनि हामी हेर्दै जान्छौं । हाम्रोमा सीमित जनशक्ति छ । यो जनशक्तिले चाहे जति काम पनि गर्न सकिँदैन । हामीले गरेको कामबाट कहिले पछि पर्दैनौं । हामीले गरेको हर काम कारवाही अनुगमन गर्दै हेर्दै पुनरावलोकन गर्दै अगाडि बढ्छौं । बानेश्वरका धेरै ठाउँमा अण्डरग्राउण्ड पार्किङ सञ्चालनमा आइसकेका छन् ।
पहिला बाटोमा सवारी पार्किङका कारण हिड्न अफ्ट्यारो भयो भनेर सयौं गुनासोहरु आउँथे । अहिले क्रमिक रुपमा यस्ता गुनासाहरु कम हुँदै गएका छन् । अशन इन्द्रचोकबाट दुइ पाङ्गे धेरै सवारी साधन उठाएका छौं । महानगरको गाडी जताततै घुमिरहेको हुन्छ । नागरिकको गुनासोको आधारमा पनि हामीले अनुगमन गर्दै आएका छौं । पार्किङ प्रयोजनको लागि भनेर लिएको ठाउँ अन्य कामको लागि प्रयोजन भएको रहेछ भने कुनै पनि हालतमा छाड्दैनौं ।
तपाईंको बिचारमा काठमाडौं महानगरलाई व्यवस्थित शहर बनाउन के गर्नुपर्छ ?
यसको लागि नागरिक नै सचेत हुन पर्याे । काठमाडौं सम्पदाले भरिएको शहर हो । यसलाई पर्यटकीय रूपमा विकास गर्ने हो भने पनि राम्रो हुन्छ । हरेक नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्याे । गलतलाई गलत सहिलाई सही हो भन्न सक्ने हुनु पर्याे । आफ्नो स्वार्थको लागि आँखा चिम्लिएर के भएको छ र भन्ने विगतको प्रवृतिलाई हटाउन जरुरी छ । सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गर्ने हो । शहर आफै राम्रो बन्छ । हाम्रो एकल प्रयासबाट मात्रै व्यवस्थित शहरको विकास गर्न सकिँदैन । सबै नागरिकहरूको सहयोग भने काठमाडौंलाई सुन्दर शहरको रूपमा विकास गर्न सकिन्छ ।
महानगरले मापदण्ड विपरितका होडिङ बोर्ड हटाउन एक सय जनालाई हायर गर्दैछ भन्ने सुनिएको छ, यो काम के कसरी हुन्छ ?
काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थल बाहिर राख्दै आएको परिचय पाटी हटाउने योजना बनाएको छ । महानगरपालिकाले ३० वर्ग फुटभन्दा माथिका सबै परिचय पाटी हटाउने छौं । परिचय पाटी राख्दै आएका संघ संस्थाहरूले सो पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको छ । शुल्क तिरेका र महानगरका मापदण्ड भित्र रहेर तयार पारिएका पाटीहरूलाई हटाइने छैन । परिचय पाटीको राखेको बापत शुल्क तिर्न संघ संस्थाहरू महानगरमा आइरहेका छन् । उनीहरूले शुल्क तिरे पनि महानगरले तोकिदिएको ठूलो वर्ग फिटमा पाटी राखेको छन् । सोही पाटी पनि हामी हटाउँछौं । त्यस्ता पाटी हटाउनको लागि काठमाडौं महानगरपालिकाले एक सय जना कर्मचारीहरू केही समयको लागि हायर गर्ने योजना बनाएको छ । उहाँहरूले कानुनलाई मिचेर ठूलो हुन्छौं भन्ने ठान्नु भएको छ । त्यस्तालाई हामी कानुनको दायरा भित्र ल्याउँछौं । सोही पाटीहरू हटाउनको लागि हामीले आन्तरिक ग्रहकार्य गरिरहेका छौं । घरको भित्ता परिचय पाटी राखेका छ । त्यसलाई हटाउनको लागि सीपयुक्त मानिस चाहियो । काठमाडौंको सुन्दरतालाई घर माथि बोर्डले थिचेर राखेको छ । त्यसलाई हटाउनु पर्छ ।
हटाएर र भत्काएर मात्र समस्याको समाधान हुने हो र ?
हामीले जति पनि भत्काएका हटाएका छौं । त्यही सबै अनधिकृत संरचना हुन् । घर बनाउँदा थोरै ठाउँ छोड्नु पर्ने हुन्छ । तर सोही ठाउँमा पनि संरचनाहरूको स्थापना गरेका छन् । ओपनस्पेस देखाउनु पर्ने ठाउँमा संरचना बनाए । हटाउनु पर्ने ठाउँमा हटायौं । त्यहाँ के बनाउनु पर्ने हो र । महानगरको योजना भित्र परेका विषयहरु बनाउन सुरु भइ हाल्छ । जति पनि हामीले भत्काएका र्छौं, त्यी पुनः बनाउनु पर्ने संरचना हैन । खालि देखाउनु पर्ने ठाउँमा पनि संरचना बनाई भाडा लगाउने जस्ता कार्य गरेकाले महानगरले खाली गरिदिएको हो ।
तपाईंहरुको आगामी योजनाको बारेमा बताइदिनु होस् ?
पहिलाको कामलाई निरन्तरता दिने काम भइ हाल्यो । नगर प्रहरीको जनशक्ति बिहान ७ बजे देखि बेलुका ८ बजेसम्म काम गरिरहेको छ । अहिले महानगर भित्र एक सय ७१ जना नगर प्रहरीहरू हुनुहुन्छ । अहिले रातको समयमा सडकमा ल्याएर फोहोर फ्याल्ने प्रवृति बढ्दो छ । यस्तो प्रवृद्धिलाई रोक्न २४ घण्टा गस्तीको परिचालन गर्ने योजना बनाएका छौं । सडकमा फोहोर फाल्नेलाई जरिवानाका साथै कारबाही पनि गर्छौं । फोहोरको व्यवस्थापन गर्न भए पनि हाम्रो जनशक्तिको परिचालन गर्छौं । तोकिएको समयमा भन्दा बाहिर फोहोर निकाल्न दिदैनौं । केही समय पछि महानगरको चोक तथा फुटपाथमा पसल राख्नेहरू पाउनु हुन्न ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.