२०७९ मंसिर १ गते १७:२० विकासन्युज
काठमाडौं । नेपालमा विश्वकप फुटबल प्रसारणसम्बन्धी विवाद सर्वाेच्च अदालतले बुधबार टुंग्याएपछि नेपालीले पैसा तिरेर विश्वकप हेर्न पाउने भएका छन् । अब ५ सय रुपैयाँ तिरेर नेपालीले विश्वकप हेर्न पाउने भएका हुन । नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार खरिद गरेको मिडिया हबले बुधबार अदालतले थप शुल्क लिन पाउने गरी आदेश दिएपछि प्रसारणको तयारी थालिएको बताएको छ ।
मिडिया हबका अध्यक्ष सोमप्रसाद धिताल अदालतको आदेशपछि नेपालमा विश्वकप हेर्नका लागि रातदिन काम सुरु भएको बताउँछन् । ‘हामीसँग छोटो अवधि मात्र बाँकी छ, विश्वकप देखाउनका लागि आवश्यक कामहरु धेरै छन्, हामीले रातदिन नभनी काम गछौँ, ग्राहकले सुरुकै दिनदेखि थप शुल्कमा विश्वकप हेर्नपाउनुहुनेछ’, उनले भने, ‘नेपाली फुटबल प्रेमी ग्राहकले थप ५ सय शुल्क भुक्तानी गर्नुपर्याे त्यसमा हामी दुखी छौँ, तर उहाँहरुको फूटबल प्रतिको मोह हामी मार्न दिदौँनौँ, थप शूल्क लिनुपर्ने हाम्रो बाध्यता हो ।’
कसरी तिर्ने शुल्क ?
विश्वकप हेर्नका लागि ग्राहकले इन्टरनेट जडान गरिएको सेवाप्रदायक कम्पनीलाई थप शुल्ल भुक्तानी गर्नुपर्नेछ । ग्राहकले आफ्नो घरमा जुन केलवको सेटअप बस राखेको छ सोही केवल सेवा प्रदायक कम्पनीलाई थप ५ सय शुल्क तिुर्नपर्ने मिडिया हबले जनाएको छ ।
‘जसरी तपाईंले इन्टरनेट र टेलिभिजनको शुल्क भुक्तानी गर्नुभएको छ, सोहीमा एड गरी अथवा प्याजेक अनुसार भुक्तानी गर्न पाइन्छ’, अध्यक्ष धितालले भने, ‘वार्षिक रुपमा भुक्तानी गर्ने ग्राहकको शुल्क प्याकेजमा नै राख्ने अधिकार सम्बन्धीत इन्टरनेट सेवा प्रदायक कम्पनीले गर्नेछ, कोहीले वार्षिक प्याकेजमा एड गर्नुहुन्छ, कोहीले नेटसँग जोडेर लिन सक्छन्, केबल, एनएसओ, डीटीएचको कम्पनीले आफ्नो तरीकाले थप ५ सय शुल्क लिनुहुनेछ ।’
उनका अनुसार मिडिया हबले भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न सम्झौता गरेको छ । भायकमबाट प्रसारण अधिकार लिन र विश्वकपको प्रचारप्रसार गर्नका लागि मात्रै मिडिया हबले ४१ करोड रुपैयाँ खर्च गरेको उनको भनाइ छ ।
उनका अनुसार विश्वकप फुटबल देखाउनका लागि ठूलो परिमाणमा खर्च लाग्ने भएपछि बाध्य भएर थप शुल्क लिनुपरेको हो । नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेटअप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ । त्यसबापत १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने उक्त कम्पनीले प्रक्षेपण गरेको छ ।
मिडिया हबले ग्राहकबाट उठाएको थप ५ सय शुल्कमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीले ३० प्रतिशत रकम पाउनेछन् । ‘७० प्रतिशत मिडिया हबले र ३० प्रतिशत सम्बन्धीत कम्पनीले दिने गरी तयारी भएको छ तर यतिनै भन्ने यकिन भैसकेको छैन’, उनले भने, ‘७०–३० हुन्छ कि ६०–४० हुन्छ, फाइनल हुनबाँकी नै छ ।’
कतारको राजधानी दोहामा यही नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा विश्वकप फुटबल आयोजन हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.