२०७९ मंसिर १५ गते १३:०४ विकासन्युज
काठमाडौं । काठमाडौँको चोभारमा रहेको सुख्खा बन्दरगाहबाट चार महिनामा साढे १५ करोड रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिना (गत साउनदेखि कात्तिक मसान्तसम्म) को तथ्यांक अनुसार १५ करोड ६८ लाख ८४ हजार रुपैयाँ बराबरको आयात भएको हो ।
चार महिनाको अबधिमा ३३ लाख ८ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।
गत चैत २२ गतेदेखि बन्दरगाहा औपचारिक रुपमा सञ्चालनमा आएको सो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार सञ्चालनमा आएदेखि हालसम्म बन्दरगाहमा ७५ वटा कन्टेनरमा सामान भित्रिएका छन् भने दुई कन्टेनर सामान निर्यात भएका छन् ।
सरकारले चोभार सुख्खा बन्दरगाहा निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो । लामो तयारी पश्चात १ खर्ब ६० करोड लागतमा २ सय ६१ रोपनी जग्गामा बन्दरगाहा निर्माण गरिएको हो ।
सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने गर्दै आएको छ ।
वीरगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाहा भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुहरुमात्र चोभार भित्रने पाउनेछन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.