२०७९ मंसिर १९ गते ९:२३ विकासन्युज
म्याग्दी । म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ ।
बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिए ।
‘बेनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँँ बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको आठ लाख रुपैयाँ बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ’, उनले भने, ‘अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको १४ लाख रुपैयाँ बजेटबाट पनि थप काम गर्न पहल गरेका छौ ।’
म्याग्दी नदीतर्फ पर्खाल र प्याराफिट निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवाले यही मङ्सिर पहिलो साता ३५ लाख ९३ हजार एक सय रुपैयाँमा एकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै मजदुर परिचालन गरेर निर्माण थालेको छ । ठेक्का मार्फत पर्खाल र पिल्लर उठाएर ३५ मिटर लम्बाइमा चार तहको प्याराफिट बनाउन लागिएको बेनी नगरपालिकाका प्राविधिक गोपाल मगरले बताए ।
प्रदेशको बजेट कार्यान्वयनका लागि गठन भएको उपभोक्ता समितिले कालीगण्डकी किनारतर्फ अधुरो पर्खाललाई पूर्णता दिने र माटोले पुरेर ‘फिलिङ’ गर्न थालेका छन् । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पारिएको थियो ।
फुटबल, क्रिकेट र एथ्लेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुलामञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ । त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ ।
कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । म्याग्दी नदीको किनारतर्फ एक सय पाँच मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाइएको छ । पर्खालमाथि करिब ५० मिटर प्याराफिट बनेको छ ।
कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ । हाल नौ/नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११/११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ ।
हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ । विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट एक लाख रुपैयाँ बजेट विनियोजन गरेर खुलामञ्चलाई व्यवस्थित बनाउन सुरु गरिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले विसं २०७१ मा छ लाख ५० हजार रुपैयाँ र २०७३ मा ५९ लाख ६७ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
विसं २०७४ मा एक करोड रुपैयाँ र २०७५/७६ मा ६० लाख रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाले नौ लाख, अर्थ मन्त्रालयले ५० लाख रुपैयााँ, खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँँ र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा कुनै पनि निकायबाट बजेट विनियोजन नहुँँदा खेलमैदान निर्माण रोकिएको थियो । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.