देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी छ – सांसद पौडेल

  २०७९ पुष २ गते ११:५७     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पार्नुभयो । उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए । नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए । उनले मत प्राप्त गरेपनि अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए ।

नेता पौडेलले भने, ‘हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ । राजनीतिक व्यथितिको अन्त्य गर्नेछौँ । स्थानीय समस्या समाधान गर्नेछौँ । कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्नेकुरामा हामी लाग्नेछौँ । उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी छ । परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी छ । आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ । त्यसोभए रोजगारीको अवसर सिर्जना हुनसक्छ ।’

नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिवद्धता जनाए ।