अमेरिकामा हिमवर्षाले करौडौं मानिस प्रभावित, १८ जनाको मृत्यु

  २०७९ पुष १० गते १४:३४     विकासन्युज

संयुक्त राज्य अमेरिका । अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौं मानिसहरू चीसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् ।

लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ ।

अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न सङ्कटकालीन कदमहरू चालिएको छ । चीसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन् ।

अमेरिकाको बफेलोमा तीन, ओहायोमा पाँच, मिसौरीमा एक चालकसहित चार, भर्मोन्टमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ ।

मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन् ।

चीसो आगामी हप्तासम्म कायम राख्ने पूवानुमान मौसमविद्हरूले गरेका छन् । खराब मौसमले मानिसहरूको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले गत शुक्रवार गरेको मौसमसम्बन्धी पूर्वानुमान अनुसार यो वर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चीसो रहने बताएको छ ।