२०७९ पुष १२ गते १०:२२ विकासन्युज
काठमाडौं । उद्योगी व्यवसायीहरुले चालु पुँजी कर्जा मार्गनिर्देशन स्थगत गर्न प्रधानमन्त्री समक्ष माग गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उद्योगी व्यवसायीहरुको टोलीले सामूहिक भेटघाट गर्दै सो माग राखेको हो ।
चालु पुँजी कर्जा मार्गनिर्देशनले उद्योग व्यवसाय सञ्चालनमा समस्या देखिएको भन्दै उद्योगीहरुले त्यसलाई कम्तिमा २ वर्ष स्थगन गर्न माग गरेका थिए । साथै उद्योगीहरुले बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानको लागि नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गर्नुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएका थिएका छन् ।
प्रधानमन्त्रीले सरकारको पहिलो प्राथमिकता अर्थतन्त्र पुनरुत्थान भएको र मन्त्रिपरिषदको पहिलो बैठकले समेत अर्थतन्त्रको पुनरुत्थानको सम्बन्धमा निर्णय गरेको उद्योगीहरुलाई बताएका थिए । पछिल्लो समयमा अर्थतन्त्रमा देखिएको समस्यका विषयमा निजी क्षेत्रले राखेको चिन्तालाई आफूले सम्मान गर्ने उनको भनाइ थियो । महासंघले विगतमा दिएका सुझावलाई पनि आफूले अध्ययन गरेको र समस्या समाधानको लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छलफल गर्ने प्रतिक्रिया प्रधानमन्त्रीले उद्योगीहरुलाई दिएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.