नयाँ सरकारले २ प्रतिशत ब्याजदर घटाए अर्थतन्त्र चलायमान हुन्छ : अध्यक्ष अग्रवाल

  २०७९ पुष १२ गते १२:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष बिष्णु अग्रवालले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि बैंकको ब्याजदर घटाउनु पर्ने बताएका छन् । संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नु पर्ने अध्यक्ष अग्रवालले बताए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको भेटमा परिसंघका अध्यक्ष बिष्णु अग्रवालले तरलता संकुचन हुँदै जाँदा अर्थतन्त्रका गतिविधिहरु रोकिन थालेको बताए ।

‘तरलता संकुचन हुँदा बैंकिङ क्षेत्रले माग अनुसार कर्जा प्रवाह गर्न सकिरहेका छैनन्, ब्याजदर पनि उच्च छ, बैंकको ब्याजदर कारण नै अर्थतन्त्र चलायमान हुन सकेको छैन, नयाँ सरकारले २ प्रतिशत विन्दुले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भने ।

व्यवसाय धराशयी बन्दै गएको अवस्थामा र लगानी योग्य रकमको अभावका कारण अर्थतन्त्र खुम्चिरहेको उनले बताए । उनका अनुसार हाल बजारमा सबै किसिमका उत्पादनको समग्र माग घटेको छ ।

उद्योगहरुको माग ३० प्रतिशतले घटेको अध्यक्ष अग्रवालले बताए । त्यस्तै एफएमसीजी, पर्यटन र सूचना प्रविधि बाहेकका सबै क्षेत्रमा तरलता अभावका कारणले माग घटेसँगै व्यवसाय नै धराशय बनेको उनको भनाइ छ । उद्योगी र व्यापारीका लागि यो ठुलो समस्या र चिन्ताको विषय रहेको उनले बताए । यही कारण हाल मुलुकभरका कतिपय उद्योग कलकारखाना बन्द भईरहेका छन् । ‘त्यसकारण पनि अर्थतन्त्र चलायमान बनाउनका लागि व्याज घटाउनुपर्छ’ उनी भन्छन्, ‘यसका लागि परिसंघले सरकारसँग पहल गरिरहेको छ ।’

अध्यक्ष अग्रवालले पुनरकर्जावापतको ६० अर्ब हाराहारी रकम पुस मसान्तमा प्रणालीबाट बाहिरिन सक्नेतर्फ बताए । स्थानीय तहको बचतलाई निक्षेपमा गणना गर्न दिइएको अवधि पनि पुसमै सकिने भएकाले तरलता झनै असहज बन्न सक्नेमा परिसंघले चासो देखाएको छ ।

नयाँ ग्राहकलाई अहिलेको निर्देशिकाअनुसार अगाडि बढ्न र पुरानालाई समयसीमा दिएर क्रमश अघि बढाउँदै लैजानुपर्ने परिसंघको माग छ । पुराना ग्राहकका लागि चालु पुँजी कर्जा मार्ग निर्देशन २ वर्षका लागि स्थगन गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।