२०७९ पुष १२ गते १५:१६ विकासन्युज
काठमाडौं । उपप्रधामन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुलाई मनोबल बलियो बनाएर काम गर्न आग्रह गरेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले समस्या समाधानका लागि आफू प्रतिवद्ध भएको बताए । साथै उनले मनोबल दह्रो बनाएर अघि बढ्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।
‘अर्थतन्त्र जोगाउन सरकारले समर्थन गर्छ, तपाईहरू दह्रो मनोवलका साथ काम गर्नुहोस्, समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौं, समस्या छ भने समाधान पनि गर्न सकिन्छ,’ उनले भने ।
आफ्नो कामको पहिलो शुरुवातनै महासंघको प्रतिनिधिमण्डलसँगको भेटबाट भएको उनले बताए । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट रहेको उनले बताए ।
‘सरकार र निजी क्षेत्र बीचको सम्बन्ध अन्योन्याश्रित रहेको छ, निजी क्षेत्रको मनोवल ढल्यो भने अर्थतन्त्र पनि ढल्छ, तपाईहरूको मनोवललाई उच्च बनाएर काम गर्ने आफ्नो पहिलो प्राथमिकता हुन्छ, म तपाईहरूको प्रतिनिधि जस्तै भएर समस्या समाधानमा काम गर्ने छु,’ उनले भने ।
नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्रालयका सचिवहरुसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि सुुझाव समेत पेश गरेका थिए ।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रूपमा चालू पूँजी कर्जा मार्ग निर्देशन रहेको बताए । उनले यस व्यवस्थालाई कम्तीमा २ वर्ष स्थगन गर्न सुझाव दिए । तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
‘अर्थतन्त्रमा बहुुआयामिक असर परेको छ, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन सकेको छैन, विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेका छन्, उद्योगी व्यवसायीहरु बाध्य भएर सडकमा आउने परिस्थिति बनेको छ, त्यसको अन्त्य गरिदिनुपर्याे,’ उनले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.