२०७९ पुष १४ गते ११:१३ विकासन्युज
काठमाडौं । पोखरामा निर्माण सम्पन्न भएको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले आगामी जनवरी १ अर्थात् पुस १७ गतेदेखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने भएको हो ।
क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको पोखरा विमानस्थल सञ्चालनकै दिन आन्तरिक उडान मात्रै हुने भएका छन् । बुद्ध एयरले पहिलो उडान पोखरा–बनारसको तयारी गरेको भएपनि भारतले अनुमति नदिँदा उडान अन्यौल बनेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
‘बुद्धले भारतसँग पोखरा–बनारस उडानको अनुमति मागेको थियो तर, बुधबार साँझसम्म भारत सरकारले उडानको अनुमति नदिँदा उडान अन्यौल बनेको छ,’ उनले भने, ‘पहिलो उडान बनारसको तयारीमा थियौँ तर, हालसम्म भारत सरकारले अनुमति दिएको छैन, भारतले अनुमति नदिँदा आन्तरिक उडान मात्रै हुने भयो ।’
यससँगै क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको पोखरा विामानस्थल सुरुवाती चरणमा आन्तरिक उडानमा मात्रै सीमित हुने भएको हो । उनका अनुसार काठमाडौंबाट हुने आन्तरिक उडानका जहाज १ जनावरीदेखि नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछन् । उनले जजिरा, बुद्ध, हिमालय र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा चासो देखाएका छन् । तर, अहिलेसम्म कुन एयरलाइन्सले कहाँ उडान गर्ने भन्ने टुंगो नगालेको उनले बताए ।
पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका ३ गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ ।
पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ ।
विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।
प्राधिकरणका अनुसार यसअघि भएको यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडानको प्रारम्भिक प्रतिवेदन आइसकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.