२०७९ पुष २६ गते १६:३२ विकासन्युज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङको शुरुवात गरेको छ । विद्युत उत्पादन घटेको र भारतबाट विद्युत आपूर्तिमा समस्या भएपछि प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडसेडिङ शुरुवात गरेको बताएकाे हाे ।
प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार प्राधिकरणले मंगलबारदेखि बिहान र साँझको समयमा औद्योगिक क्षेत्रमा ९ घण्टा लोडसेडिङ सुरु गरेकाे हाे । भारतको बिहारबाट आपूर्ति हुने विद्युत प्रणालीमा जोडिएको जेनेरटरमा समस्या भएको भन्दै आयात कम हुन पुगेको उनले बताएका छन् ।
‘बिहारबाट नेपाल आयात हुने विद्युतमा १३३० मेगावाटको जेनेरेटरमा समस्या भएको भन्दै आपूर्ति कटौति भएपछि लोडसेडिङ गर्नुपरेको हो, बिहान र बेलुकाको समयमा औद्योगिक क्षेत्रमा प्रयाप्त विद्युत आउन नसक्ने जानकारी गराएका छौं’, उनले भने ।
प्रवक्ता भट्टराईका अनुसार नेपाललाई अहिले १० हजार २०० मेगावाट/प्रतिघण्टा (एमडब्लुएच) विद्युतको आवश्यकता पर्छ तर त्यसमध्ये २७ देखि २८ प्रतिशत आयातमा निर्भर रहेको छ । भारतमा हुने विद्युतको आयातमा समस्या देखिएपछि सोमबार १ हजार र आज मंगलबार २७ सय एमडब्लुएच विद्युत नपुगेको उनले बताए । आपुर्तिकर्ताले २/३ दिनमा नै बिग्रिएको जेनेरेटर मर्मतको काम सम्पन्न हुने र आपूर्तिमा समस्या नहुने जानकारी दिएको उनले बताएका छन् ।
भारतको स्वतन्त्र विद्युत बजारबाट प्रतिस्पर्धात्मक रुपमा उच्च मूल्यमा विद्युत खरिद गर्न खोज्दा पनि अभावका कारण पाउने अवस्था नरहेको उनले बताए । ‘भारतको स्वतन्त्र बजारमा विद्युतको क्याप मूल्य १२ रुपैयाँ रहेको छ, त्यो मूल्यमा खरिद गर्न खोज्दा पनि पाउन सकिएको छैन’, उनले भने ।
अचानक लोडसेडिङको शुरुवात भएपछि उद्योगीहरुले भने चिन्ता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बजारमा सुधार देखिन लागेको बेलामा विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा ९ घण्टा लोडसेडिङ शुरुवात गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘अलिकति मात्र भए पनि बजारमा सुधार देखिएको के थियो, नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडशेडिंग शुरू गरेको छ, औद्योगिक क्षेत्र कसरी उभो लाग्ने होला ? उनले भनेका छन् । यसअघि पनि प्राधिकरणले औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.