२०७९ माघ २३ गते १२:३१ विकासन्युज
औषधि उद्योगमा स्थापित व्यवसायीका रुपमा पहिचान बनाएका उमेशलाल श्रेष्ठसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने तीक्ष्ण इच्छा छ । औषधि उत्पादक संघको संस्थापक अध्यक्ष समेत रहेका उनी निजी क्षेत्रका उद्योगी व्यवसायीको नेता बन्ने अभिप्रायका साथ महासंघको राजनीतिमा लागेका हुन् । यसअघि २०७७ मा भएको महासंघको चुनावमा वस्तुगततर्फको उपाध्यक्षमा प्रतिस्पर्धामा उत्रिएर पराजित भएका उनी आगामी चैतमा हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारको रुपमा अघि सर्दैछन् । अहिले महासंघको वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष बन्ने आकांक्षा राखेका उद्योगी व्यवसायीहरु आफ्नो टीम बनाएर आन्तरिक प्रचारप्रसारमा पनि जुटिसकेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेद्वारका रुपमा आफुलाई अघि सारेका श्रेष्ठसँग हामीले उनको चुनावी एजेण्डा, महासंघभित्रको राजनीति लगायतका समसामयिक अर्थतन्त्र र उद्योग व्यवसायमा विषयमा कुराकानी गरेका छौं ।
महासंघको नेतृत्व सम्हाल्ने सपना कसरी बनाउनु भयो ?
म नेपाल औषधि उत्पादक संघका संस्थापक अध्यक्ष हो । नेपाल औषधि उत्पादक संघमा २०५० सालदेखि सदस्य हुँदै ३ पटकसम्म अध्यक्ष भएँ । नेपाली औषधि उद्योगको क्षेत्रमा ठूलो योगदान गरेँ । महासंघमा नआएको भए अझै ४/५ पटकसम्म औषधि उत्पादक संघको अध्यक्ष बन्न सक्थें । तर, साथीहरुले उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनुपर्छ भनेर सुझाव दिए । मैले महासंघमा आएर जित हासिल पनि गरेँ ।
महासंघल सरकारलाई ठूलो प्रभाव पार्ने गरेको महसुस भएको छ । अहिले आएर दिग्भ्रमित रहेछु भन्ने लागेको छ । यहाँ त ठूलाठूला व्यक्तिहरु आफ्नो काम सुल्झाउन मात्रै आउँदा रहेछन् । म आफ्नो संघमा नै ठिक र खुसी थिएँ । देशको ७० प्रतिशत अर्थतन्त्रको सञ्चालक निजी क्षेत्र हो । १५/१६ खर्बको बजेटमा निजी क्षेत्रबाट ११ खर्ब रुपैयाँ करबाट उठ्छ । तर, व्यापार व्यवसाय गर्नलाई जहिले पनि सरकारले वेवस्ता गरेको छ । उद्योगीहरु चुपचाप भएर बस्नु पर्ने बाध्यता छ । यही कारण महासंघको उच्च पदको लागि आकांक्षा राखेको हुँ । ८० प्रतिशत साना व्यापारी छन् । उनीहरुको हितको लागि केही गर्ने सोच छ ।
चुनाव नजिकै आइरहेको छ । विभिन्न व्यक्ति वा क्षेत्रमा छलफल गरिरहँदा कस्तो क्याल्कुलेसन गर्नु भएको छ ?
चुनावी माहोल राम्रो बन्दै गएको छ । राम्रो रेस्पोन्स आउँदैछ । सबैले आग्रह गरेर नै उम्मेदवार बनेको हुँ । देशभरका उद्योगी व्यवसायीहरुले राम्रो सहयोग गर्नु भएको छ । उहाँहरुका सुझाव र मागलाई एउटा एजेण्डा बनाइरहेका छौं ।
चुनावमा जानका लागि तपाईंका एजेण्डाहरु के–के हुन् ?
म राजनीतिमा उठेको भए सडक, पुल वा पुर्वाधार निर्माण गर्छु भन्थेँ । व्यवसायीहरुको एउटै एजेण्डा हुन्छ, देशको अर्थतन्त्रलाई कसरी सपोर्ट गर्ने ? त्यो एजेण्डा पुरा गर्न नियम कानुन व्यवसायीमैत्री हुनुपर्छ । तर, सबै नियम कानुन व्यवसायमैत्री छैनन् । ती कानुनहरु सहजीकरण गर्नु पर्नेछ । सहजीकरण भन्ने बित्तिकै यी सबै कालोबजारीहरुले सरकारसँग मिलेमतो गरेर के–के गर्न लागे भन्छन् । समाजका हरेक तह–तप्कामा असल र खराब मान्छे हुन्छन् । असाध्यै थोरै मान्छे खराब हुन्छन् । ती कर्मचारी तन्त्रमा र राजनीतिमा पनि छन् । वि।सं। २०२० मा विराटनगर जुट मिल मात्रै थियो । गाउँघरमा आरन र पानी घट्ट थिए । त्यो बेला ल्याएको ऐन सही थियो ।
व्यवसायीहरुले आम्दानीको २५ प्रतिशत हिस्सा सरकारलाई बुझाउँछन् । सरकारले व्यवसायीहरुलाई सहज रुपमा काम गर्न दिएन भने सरकारले पाउने हिस्सा पनि कम हुन्छ । सरकारले पाउने हिस्सा कम भएपछि विकास निर्माणका काम पनि कम हुन्छन् । सरकारले आर्थिक वृद्धिदर हासिल गर्न विकास खर्च ७ खर्ब गर्नुपर्ने हुन्छ । तर, विकास खर्च त्यसको आधा मात्रै छ । यसरी खर्च गरेर आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन । देशलाई कसरी आर्थिक रुपमा समुन्नत गर्ने भन्ने उद्योगी व्यवसायीको लक्ष्य हुन्छ ।
उद्योग वाणिज्य महासंघले ब्याजदर बढाउनु हुँदैन भनेर राष्ट्र बैंकलाई दोष लगाउनु खुला बजार अभ्यास विपरित होइन र ?
खुला बजार अभ्यास विपरित हो । राष्ट्र बैंकले आधार दर निर्धारण गर्न निर्देशन दिएको छ । आधारदरमा आम्दानी, खर्च, नाफा, घाटा सबै हुन्छ । त्यसपछि मात्रै प्रिमियम दर तोकिने हो । पहिला २ प्रतिशत प्रिमियम दर थियो । अहिले ७ प्रतिशत प्रिमियम दर पुगेको छ । बैंकहरुको आधारदर ११ प्रतिशत बढी छ । अब बैंकहरुको कार्टेलिङ्क रोक्नुपर्छ । यी खुला अर्थतन्त्रका विरोधी सूचकहरु छन् ।
भोलिका दिनमा सरकारले तेरो सामानको मूल्य यत्ति हुनुपर्छ भनेर निर्देशन दियो भने के गर्ने ? त्यसैले हामीले सिस्टमममा भएका खराबीलाई हटाउनुपर्छ । जब आधारदर निर्धारण गरिसकेपछि के आधारमा ७ प्रतिशत प्रिमियम लिने हो त्यो स्पष्ट हुनुपर्छ । साना उद्योमी वा व्यापारीले ७ प्रतिशत प्रिमियमदर तिर्नुपर्ने बाध्यता छ । ठूला व्यापारीबाट १ प्रतिशत प्रिमियिम लिएका छन् । सानाको बाच्ने अधिकार छैन भन्न खोजेको हो ? ब्याजदर घटाएर ८ प्रतिशत ल्याउनु पर्छ भन्ने मान्यता होइन । तर, ब्याजदर क्याल्कुलेसन गर्ने तरिका सही हुनुपर्छ । मुद्रास्फितीलाई रोक्न बैंकको ब्याज अलि बढाउनु पर्छ । विदेशमा अलि भनेको शून्य दशमलब २/४ प्रतिशत हुन्छ । हालै अमेरिकामा भएको ०.५० प्रतिशत ब्याजदर बढ्यो । नेपालमा अलि भनेको ५ प्रतिशत हो ।२ वर्ष अगाडि ६.३३ प्रतिशत लिएको कर्जाको लागत अहिले १४ प्रतिशत पुगेको छ । यही कारण आन्दोलित हुनु परेको हो ।
उद्योगधन्दा सञ्चालन गर्न वा व्यापार व्यवसाय गर्न पुँजी जुटाउन सरकारले सहयोग गर्नुपर्छ । जबसम्म लगानीकर्ताले पूँजी संकलन गरेर उद्योग, ब्यापार व्यवसाय सञ्चालन गर्दैनन् तबसम्म देशले विकास गर्न सक्दैन । उद्योगी तथा व्यवसायीहरुले कमाएको नाफालाई सरकारको हेर्ने दृष्टि फरक छ । व्यवसायीहरुले नाफा कमाउनु पर्छ तर उपभोक्तालाई मर्का पर्नु हुँदैन । म पनि एउटा उपभोक्ता हो । म औषधी र रबर व्यापारी हुँ तर, अन्य बाँकी हजारौं वस्तुहरु मैले पनि खरिद गर्नुपर्छ ।
नेपालको संविधानले खुला अर्थतन्त्रको अभ्यास गर्न पाइने व्यवस्था गरेको छ । सरकारले तीन खुट्टे अर्थतन्त्रलाई अँगाल्दै समाजवाद उन्मुख अर्थतन्त्र लागू गर्ने भन्छ । बिपी कोइरालाले पनि समाजवादउन्मुख अर्थतन्त्र अँगालेका थिए । समाजवाद अर्थतन्त्र भएको देशमा असमानता कम हुन्छ । हुने खाने र हुँदा खाने बीचको दूरी कम हुनुपर्छ । सरकारले थुप्रै कुराको दायित्व लिनुपर्छ । मैले बुझेको समाजवाद यहि हो । मेरो मुख्य एजेण्डा पनि यही हो । निजी क्षेत्रलाई सरलिकरण गर्ने हो ।
महासंघ र सरकारबीच बेलाबेला विभिन्न टिकाटिप्पणी हुन्छन्, सरकारसँग कसरी महासंघको सम्बन्ध कायम गर्नु हुन्छ ?
म महासंघमा आउँदा सम्बन्ध शून्य थियो । महासंघ सरकारको अनौपचारिक आर्थिक सल्लाहकार हुनुपर्छ । जुन अहिलेसम्म हुन सकेको छैन । हामी उद्यमी व्यवसायीहरु एक ठाउँमा उभिन सकेका छैनौं । उद्योगी व्यवसायीहरुका व्यक्तिगत कारणले नयाँ–नयाँ संगठन बन्दै छन् । एउटा व्यापारी वा उद्यमी र अर्को व्यापारी वा उद्यमीको उद्देश्य फरक हुनै सक्दैन । तर, हामी एक ढिक्का हुन सकेका छैंनौं । नेतृत्वमा हुने साथीहरुको राजनीतिक आडमा आफ्ना काम मात्रै अघि सार्ने काम गरेका छन् । जसले संघलाई हेर्ने दृष्टिकोणमा सरकारको बदलाव छ । यहि बदलावका कारण हामीले यो नियती भोगिरहेका छौं । नेतृत्वमा भएका व्यवसायीहरुले व्यक्तिगत काम गर्न रोक लगाउनु पर्छ । अब मोफसलका उद्योगी व्यवसायीहरुका मुद्धा लिएर अघि बढ्नु पर्छ ।
अहिले ब्याजदर घटाउनु पर्यो भनेर आन्दोलन भइरहेको छ । आन्दोलनबाट के प्राप्त हुन्छ भन्ने थाहा छैन । हाम्रो प्रवृत्ति वा चरित्र भनेकै आन्दोलन गर्ने हो । हामी विद्यार्थी वर्ग र मजदुर वर्ग पनि होइनौं । वार्ता गरेर समाधान गर्नुपर्छ । अहिलेको स्थिती हेर्ने हो भने बसिनसक्नु छ । यस्तो स्थिती आउनुमा सबैको दोष छ । सबैभन्दा ठूलो दोषी नेपाल राष्ट्र बैंक हो । राष्ट्र बैंकले कतिपय कुरा रोक्न सक्थ्यो तर चाहेन । राष्ट्र बैंकलाई निर्देशित गर्न नसक्नुमा सरकार दोषी छ । राष्ट्र बैंक स्वायत्त संस्था हो तर, जस्तोसुकै स्वायत्त भनिएता पनि राष्ट्र बैंक नेपाल सरकार मातहतको निकाय हो नी । राष्ट्र बैंकले नेपाल सरकारका नीतिहरुलाई कार्यान्वयन गर्ने हो । विशेषगरी बजेटमा आएका निर्देशनलाई सफल पार्ने मौद्रिक नीति ल्याउनुपर्छ । त्यसैले हामी मौद्रिक नीतिलाई कुरेर बसेका हुन्छौ ।
अहिले राष्ट्र बैंक असाध्यै एकतर्फी भएको छ । बैंकले पनि व्यपार गरेर नाफा कमाउनु पर्छ । उद्योगी व्यवसायीहरु टिक्न नसक्ने भए बैंक कसरी टिकाउ हुन्छ, बैंकहरु दीगो भएनन् भने उद्योगी व्यवसायी कसरी टिक्छन् ? दि उद्योगी व्यवसायी र बैंकहरु दुवै टिक्न सकेनन् भने सरकार कसरी सञ्चालन हुन्छ ? सरकार र बैंकहरुले यसरी बुझ्नुपथ्र्यो तर बुझेनन् ।
ब्याजदर घटाउनु पर्ने आन्दोलनमा बैंकका सञ्चालक पनि थिए, किन ?
त्यो आन्दोलन महासंघको चुनाव लक्षित हो । अरु केही होइन । त्यहाँ अनुहार देखाए भने मैले भोट पाउँछु भन्ने सोच भएर आन्दोलनमा बैंकका सञ्चालक गएका हुन् । तर, उनीहरु इच्छाले आएका होइनन् ।
बैंकर र उद्यमी छुट्टिनु पर्छ भनेर महासंघ जानसक्छ ?
शरीरको कुनै भागमा एउटा घाउ आउँछ । तर त्यो घाउ विस्तारै ठूलो हुँदै जान्छ । अन्तिमममा क्यान्सर हुन्छ । हिजोका दिनमा तछाड मछाड गरेर ३२ वटा बैंकहरु सञ्चालनमा आए । बीमाको लाइसेन्स पनि दियो । मैले पनि केही बीमा कम्पनीको सेयर लिएको छु । तर, कसैले पनि यति नै बैंक बीमा कम्पनी चाहिन्छ भनेर निर्धारण गर्न सकेन । सामान्य मान्यता अनुसार सानो आकारको जीडीपी र व्यापार भएको देशमा यति धेरै बैंक बीमा कम्पनी आवश्यक थिएनन् । हामी जे काम पनि हतारमा गर्छौं र अन्तिममा बर्बाद भयो भन्ने लाग्छ । सबैलाई बैंक र बीमा कम्पनीको सेयरधनी बन्न रहर लागेको हो । हिन्दीमा एउटा भनाइ छ, ‘छोटा से घाउ था नासुर बनगया ।’ अब त्यो बेलामा कसैले पनि वास्तै गरेनन् । जसले पनि लगानी गर्यो । बैंकर र उद्यमी छुटाउनै पर्छ ।
पञ्चायत कालमा लाइसेन्स राज थियो । गणतन्त्र आएपछि अब समाप्त भयो भन्ने लागेको थियो । तर, आजका दिनमा पनि पञ्चायतकालमा जस्तै लाइसेन्स राज छ नी ?
हाम्रो राजनीतिज्ञहरुले देशको अर्थतन्त्रका बारेमा सोच्दै सोच्नुहुन्न । आजको दिनमा आएर राजा महेन्द्रलाई सबैले ठूलो मान्छे मान्छन् । राजा महेन्द्रले आफ्नो पालामा विभिन्न उद्योगहरु, पूर्वपश्चिम राजमार्ग, कृषि औजार कारखाना लगायत सञ्चालन गरे थिए । तर, राजनीतिक रुपमा उहाँको सोच खराब थियो । हरियो वन नेपालको धन । नेपाल कृषि प्रधान देश हो । त्यो बेलामा कृषि सामाग्री निर्यात हुन्थ्यो भने अहिले आयात हुन्छ । राजनीतिक प्रणालीको दिवाली पन यहाँबाट स्पष्ट देखिन्छ । कृषि प्रधान देश भन्नेले सिँचाइका काम गर्नु भएन । अहिले पनि आकाशे पानीको भरमा खेती गर्नुपरेको छ । मनसुन राम्रो भयो भने धान उत्पादन बढ्छ नत्र घट्छ । कुनै पनि आयोजना सम्पन्न हुन वर्षौ समय लाग्छ । पूर्व पश्चिम पुष्पलाल मध्यपहाडी लोकमार्ग बनेजस्तै किन पूर्व पश्चिमका नदिहरुबाट सचाँई गर्न सकिएन ।
महासंघको विधान संशोधनको विषय निर्वाचनको बेला मात्रै चर्चामा आउँछ, अझै फेरी के हुन्छ ?
पूर्व अध्यक्ष कुश जोशीको नेतृत्वमा पनि विधान संशोधन समिति पनि बनेको थियो । म पनि विधान संसोधन समितिमा सदस्य थिएँ । हामीले विधान संसोधनका लागि ३६ वटा बुँदाहरु राखेका थियौं । तर, संशोधन हुन सकेन । विधानमा धेरै कुराहरु संशोधन गर्न आवश्यक छ । जसमा अध्यक्ष छनोट प्रक्रिया पनि परिवर्तन हुनुपर्ने थियो । महासंघ अध्यक्षात्मक संस्था हो । अध्यक्षात्मक संस्था भएका कारण अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ ।पहिला वरिष्ठ उपाध्यक्ष बनेपछि स्वतः अध्यक्ष हुने व्यवस्थामा नि आफ्नै तर्क छन् । अध्यक्षको चुनाव हुँदा पक्षरविपक्ष हुन्छ । १/२ प्रतिशतको फरकमा जितहार हुन्छ । त्यसैले वरिष्ठ उपाध्यक्ष हुनुपर्ने व्यवस्था राखिएको हो । नयाँ कार्यसमितिको अध्यक्ष भइसकेपछि पक्ष/विपक्ष हुँदैन । अब चन्द्र ढकाल अध्यक्ष बन्दै हुनुहुन्छ । उहाँका पालामा जति पनि रिस थिए सबै सकिन्छन् ।
हामीसँग विरोधीलाई साथ लगेर जाने शक्ति छैन । हामीसँग तेत्रो ठूलो हृदय पनि छैन । मेरो हृदय ठूलो छ किनभने म चुनाव जित्ने बित्तीकै मसँग चुनावमा पराजितलाई व्यक्तिलाई सल्लाहाकार बनिदिनुस भनेर आग्रह गरेको थिएँ । जबकी उहाँहरु नै मलाई हराउन लाग्नु भएको थियो । उहाँले पनि स्वीकार गर्नुभयो । मैले कुनै पनि निर्णय गर्दा उहाँको सुझाव लिन्थे । यो परिपाटी (कल्चर) बसाउनु पर्छ । महासंघमा यो कल्चरको कमी छ ।
महासंघ नेतृत्वको क्रममा कुन व्यवसायीले कति स्थान पाए भन्ने हुन्छ होला नी ?
जिल्ला भनेको हाम्रो शक्ति हो । जिल्लालाई यथावत राखेर एसोसियट र वस्तुगतको बराबर गर्ने हो । वस्तुगतलाई अझै बढी स्थान दिनुपर्छ । महासंघको चुनावको बेला सदस्यहरुको खुट्टा ढोग्छन् । तर, चुनाव पछि कुनै वास्ता हुँदैन । त्यो प्रथालाई हटाउन आवश्यक छ । यसको सुरुवात चन्द्रजीबाट भइसकेको छ । वरिष्ठ उपाध्यक्ष भइसकेपछि चन्द्रजी जतिसुकै व्यस्त भएपनि कार्यक्रममा जान आनाकानी गर्नु भएको छैन । व्यस्त भएका बेला फोन नउठेपछि कल ब्याक गर्नुहन्छ । डाक्टरको राम्रो कुरा सुन्यो भने आधा बिमार आफै निको हुन्छ भने जस्तै हो । यसको लागिपूर्व अध्यक्ष भवानी राणाले हेलो एफएनसीसीआइ कार्यक्रम सुरु गर्नुभयो । त्यो कार्यक्रम सफल पनि भयो ।
साना मझौला उद्योगीहरलाई समस्या पर्नु भनेको हामीलाई पनि समस्या पर्नु हो । म पनि मझौला व्यापारीमा पर्छु । अझै म भन्दा साना उद्योगी व्यवसायीहरुलाई धेरै समस्या परेको छ । व्यापारीहरुको चरित्र आन्दोलन गर्ने होइन । हाम्रो टेबलको माध्यमबाट समस्या समाधान गर्नु पर्ने हाम्रो चरित्र हो । कोरोनाबाट अझै माथि उठेन नसकेको बेला राष्ट्र बैंकले गजब–गजब नियम ल्याएको छ । वर्किङ क्यापिटलमा २५ प्रतिशत क्यापिङ लगाएको छ । सरकार आफैं ५.३ प्रतिशत ग्रोथ हुन्छ भन्छ ।
मैले पनि व्यक्तिगत कर्जा लिएको छु । बैंकका कर्मचारी आएर कर्जा लिनु पर्यो भनेर हैरान पारेको थियो । उनीहरुले हैरान बनाएपछि ६.३३ प्रतिशत ब्याजदरमा कर्जा लिए । जुन कर्जा मलाई जरुरत नै थिएन । एक वर्षको ग्यारेन्टी दिएर २ वर्षको कर्जा लिए । राष्ट्र बैंकले यस्ता कुराहरु छानबिन गर्नुपर्ने हो । बैंकले ५२ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसमा बैंकको आफ्नो रकम भनेको ४/५ खर्ब मात्रै हो । जसमा ९० प्रतिशत सीडी रेसियो कायम गरेर कर्जा दिएका छन् । त्यो रकम कहाँ गएको छ भनेर खोजी गर्न आवश्यक छ ।
तपाईंलाई भोट किन दिने ?
भोट माग्ने मान्छेको सबैको अनुहार हेर्नु होला । सबैको विगत हेर्नु होला । विगतमा कसले के–के गरेका थिए रु के–के गर्न सक्छन् रु त्यो हेर्नुपर्छ । चुनावमा उम्मेदवार सबै सक्षम व्यक्ति छन् । तर, सक्षम व्यक्तिहरुमध्ये सबैभन्दा उत्कृष्ट छान्नुपर्यो । जिल्ला, वस्तुगत, एसोसियट लगायत सबैमा मेरो सद्भाव छ । म परिवर्तन ल्याउन सक्ने उम्मेदवार हुँ । म कुनै रेलको लिगमा हिड्ने मान्छे होइन । प्रस्ट रुपले निडर भएर काम गर्न सक्ने मान्छे हो । सबै जना कुरा घुमाएर बोल्नुहुन्छ । म केही पनि लुकाउने व्यक्ति नभएर तत्काल प्रतिक्रिया दिने मेरो स्वभाव हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.