हिमालयनमा मर्ज हुँदा सिभिल बैंकका सबै लगानीकर्ता र कर्मचारी खुशी छन्ः प्रतापजंग पाण्डे

  २०७९ फागुन १२ गते ९:४४     विकासन्युज

बैंकको नाम, लोगो, सञ्चालक समिति, उच्च व्यवस्थापनको मोह छोडेर लगानीकर्ता र कर्मचारीहरुको उच्चतम हित सुरक्षित गर्दै सिभिल बैंक हिमालयन बैंकमा गाभिएको छ । दुई बैंकबीचको मर्ज निकै लामो समय पेचिलो बन्यो तर अन्तिममा सद्भावपूणर् र सहृदयपूणर् मर्ज सम्पन्न भएको सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे बताउँछन् ।इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स कम्पनी (आइएलएफसी)मा रहँदा पाण्डेले उक्त फाइनान्स सिभिल बैंकमा मर्ज गराएका थिए । त्यतिबेला पनि नाम, लोगो, सञ्चालक सीईओ केही दावी गरेनन्, लगानीकर्ताको र कर्मचारीको हितलाई केन्द्रमा राखेको थिए ।

पछि उनै पाण्डे सिभिल बैंकको सञ्चालक बने र अध्यक्ष पनि बने । आइएमई जनरल इन्स्योरेन्सको सञ्चालक बन्दा होस् वा सिभिल बैंकको सञ्चालक बन्दा दुबै संस्था कमजोर रहेको तर आफूले नेतृत्व लिएपछि दुबै संस्थालाई सुदृढ गर्न सफल भएको उनी बताउँछन् । शान्त स्वाभावका देखिने, लो प्रोफाइलमा रहेर काम गर्ने पाण्डेमा नेतृत्व क्षमता भने उच्च रहेको घट्नाक्रमले पुष्टि गर्दै लगेको छ । प्रस्तुत छ आईएलएफसी फाइनान्सलाई वाणिज्य बैंक बनाउन नसक्दादेखि सिभिल बैंकलाई हिमालयन बैंकमा मर्ज गराउँदाको अनुभव र अवको योजनाबारे पाण्डेसँग गरिएको विकास वहस ।

आइएलएफसीलाई बैंकमा स्तरउन्नति गर्ने तपाईको प्रयास पनि असफल भयो । सिभिललाई पनि हिमालयन बैंकमा मर्ज गराउनु भयो । कस्तो अनुभव भैरहेको छ ?

आइएलएफसीलाई वाणिज्य बैंक बनाउने उदेश्य सहित पुँजी २ अर्ब रुपैयाँ पुर्यायौं । आइएलएफसीको लक्ष्य बैंक बन्ने नै थियो । पुँजी वृद्धि गरे पनि बैंकको लाइसेन्स प्राप्त हुन सकेन । त्यहि बेला नयाँ वाणिज्य बैंकका रुपमा सिभिल बैंक सञ्चालनमा आएको थियो । आइएलएफसीले लाइसेन्स पाउन नसक्दा सिभिल बैंकसँग मर्ज भएको हो ।

सिभिल बैंक पछिल्लो पुस्ता बैंक हो । नेपालको बैंकिङ्ग क्षेत्रको इतिहास त्यति धेरै लामो छैन । भारत, यूरोप लगायतका देशहरुमा बैंकिङ्ग क्षेत्रको इतिहास धेरै लामो छ । सिभिल बैंक भर्खर १२ वर्ष पुगेको छ । बैंकले जति ग्रोथ गरेपनि पुराना बैंकसँग प्रतिस्पर्धा गर्न कठिन नै भएको अनुभव सञ्चालकमा भयो । त्यसर्थ पुरानो र स्थापित बैंकसँग मर्ज गर्नुपर्छ भन्ने सोचमा सञ्चालक समिति गयो ।

आजभन्दा २ वर्ष अघि हिमालयन बैंकसँग मर्जरका लागि प्रयास भएको थियो । तर, सिभिल बैंकले आफ्नो पुँजी अनुसारको विजनेश वृद्धि गर्न नसकेको भन्दै हिमालयन बैंकसँग मर्जर गर्न अस्वीकार गर्यो । त्यसपछि २ वर्षको दौरानमा बैंकले विजनेशमा आक्रामक विस्तार गर्यो । सिभिल बैंकले पनि डबल डिजिटमा लाभांश दिन सक्ने क्षमता राख्न थाल्यो । अनि मात्रै हिमालयन बैंकसँग मर्जर सम्भव भएको हो ।

आइएलएफसीलाई स्थापित गर्दाको तपाइको सोच के थियो ?

आइएलएफसी लिजिङ कम्पनीका रुपमा स्थापित भएको थियो । लिजिङ कम्पनी बैंकभन्दा पनि अब्बल हुन्छ भन्ने हिसावले स्थापना गरिएको थियो । फाइनान्स लिजिङ र अप्रेटिङ लिजिङ गरी २ वटा अवधारणा थिए । तर, पछि फाइनान्सले मात्रै लिजिङ गर्न पाउने गरी नियम संशोधन भयो । लिजिङ कम्पनीमा त्यति धेरै चाम देखिएन । फाइनान्स कम्पनी र लिजिङ कम्पनी समान हुन थाले । त्यसपछि लिजिङ कम्पनी विस्तारै रेगुलर बैंकिङ्गमा रुपान्तरित भएको हो ।

आइएलएफसीलाई वाणिज्य बैंक बनाउने भनेर २ अर्ब पुँजी वृद्धि गरियो । तर, राष्ट्र बैंकले लाइसेन्स नदिँदा असन्तुष्ट हुनुहुन्थ्यो । आजको दिनमा राष्ट्र बैंकले गरेको निणर्य सहि लाग्छ कि लाग्दैन ?

वाणिज्य बैंकको लाइसेन्स पाएको भए केही न केही परिवर्तन अवश्य हुन्थ्यो । तर, अन्य एनएमबी, किष्ट फाइनान्सले वाणिज्य बैंकको लाइसेन्स पाए, सानिमा विकास बैंकले वाणिज्य बैंकको लाइसेन्स पायो । तर राष्ट्र बैंकले आइएलएफसीलाई नयाँ बैंकले लाइसेन्स दिएन । त्यसमा हाम्रो असन्तुष्टि थियो तर लाइसेन्स नपाएपछि हामीले मर्जको बाटो रोजेका हौ । २०६४ देखि २०७० को अवधिमा थुप्रै बैंकहरुले लाइसेन्स पाए । त्यसमध्ये अधिकांश पुराना बैंकमा मर्ज भइसके । हामीले पनि लाइसेन्स पाएका थियौं भने पनि अहिले त मर्ज गर्नै पथ्र्यो भन्ने लाग्छ ।

२०६४ पछि सञ्चालनमा आएका किष्ट बैंक, ग्राण्ड बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी बैंक मर्जमा गए । सनराईज बैंक पनि लक्ष्मीसँग मर्ज हुँदैछ । अझै त्यो भन्दा पुराना लुम्बिनी बैंक, बैंक अफ काठमाण्डू, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक पनि मर्ज भइसके । अब ती सबै बैंकहरुको इतिहास मेटिएको छ । सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक सबैले मर्ज गरेर पुँजी वृद्धि गरेका हुन् ।

नयाँ पुस्ताका बैंकहरु मर्ज हुनु पर्ने अवस्था किन आयो ?

विजनेश इन्ट्रिगेसन (व्यवसाय एकीकरण) गर्नका लागि मर्जर भएका हुन् । २ अर्ब पुँजीबाट सञ्चालनमा आएका बैंकहरुले पुँजी वृद्धि गरेका छन् । ज्वाइन्ट भेञ्चर बैंक बाहेक अन्य सबै बैंकको पुँजी १५ अर्ब भन्दा बढी पुँजी पुगेको छ । मर्जर भएर ठूलो बैंक बन्नु राम्रो पक्ष हो । जसले गर्दा विजनेश एकीकरण पनि हुन्छ । पहिला पुँजी वृद्धिमा मात्रै ध्यान दिएका थिए भने अहिले विजनेश ग्रोथमा केन्द्रित हुन थालेका छन् ।

धेरै लाइसेन्स दिनु राष्ट्र बैंकको गल्ती थियो सबैले भन्छन् । लगानीकर्ता पनि दूरगामी थिएनन् र अहिलेको परिणाम भोग्नु पर्यो भन्दो हुन्छ ?

मर्ज वा प्राप्तिमा गएर पनि लगानीकर्ता चुकेका छैनन् । एउटा बैंकबाट अर्को बैंकमा लगानी सरेको छ । सानो बैंकबाट ठूलो बैंक भएका छन् । यसमा लगानीकर्ता केही पनि गुमाएका छैनन् । पहिला धेरै बैंक भएपछि पहुँच वृद्धि हुन्छ भन्ने थियो । अहिले शाखा वृद्धि हुँदै ठूलो भएका छन् । नेटवर्क वृद्धि गरेर पनि ठूलो हुने अवस्था आएको हो । अहिले विजनेश आवश्यकता हुन थालेको छ । राष्ट्र बैंकको मर्जर नीति आफ्नो ठाउँमा सही छ । तर, बैंक आफैं ठूलो भएर सक्षम हुनका लागि विजनेश आवश्यक छ ।

३५ अर्ब भन्दा धेरै पुँजी भएको बैंक हुनु सफलताको सूचक हो त ?

धेरै बैंक हुँदा वित्तीय पहुँच बढेको हो । पहिला मान्छेहरु बैंकमा जान डराउनु पर्ने अवस्था थियो । पहिला-पहिला ज्वाइन्ट भेञ्चरका चिल्लो बैंकमा मान्छे छिर्न पनि डराउँथे । जब नीजि क्षेत्रका बैंक सञ्चालनमा आए तब गाउँ गाउँमा बैंकका शाखा विस्तार भए । जसले गर्दा आम सर्वसाधारणमा वित्तीय पुहँच पुगेको छ । गाउँघरमा हरेक मान्छेहरुले व्यवसाय गर्न, निक्षेप जम्मा गर्न, साना-साना घरेलु उद्योग सञ्चालन गर्न बैंकबाट सुलभ कर्जा पाएका छन् । जसको परिणामस्वरुप अर्थतन्त्रमा ठूलो टेवा मिलेको छ भने रोजगारीका अवसर पनि सिर्जना भएका छन् ।

राष्ट्र बैंकको नीति अनुसार हरेक पालिकामा बैंकको शाखा विस्तार भएको छ । तर, शाखा विस्तार गरेर बैंकको पहुँच पुर्याएर मात्रै भएन । अब बैंकहरु सक्षम हुनु पर्ने बेला आएको छ । किनभने बेला-बेलामा अर्थतन्त्र तलमाथि भइरहेको हुन्छ । यस्तो अवस्थामा एकीकृत भयो भने अझै सक्षम हुन्छन् । बैंकिङ्ग क्षेत्रमा ठूलो भूकम्प जाँदा पनि जोगिने गरी बलियो बनाउन आवश्यक छ ।

तपाइले फाइनान्स कम्पनीमा लागनी गर्नु भयो । त्यसलाई अपग्रेड गर्दै सिभिल बैंकमा जोडिनु भयो । अहिले हिमालयन बैंकसँग मर्ज गर्नु भयो । यो यात्रामा समीक्षा गर्दा तपाइले सफलता हासिल गर्नु भयो कि भएन ?

यो निरन्तर प्रक्रिया हो । यदि बेलैमा कुनै पनि काम गर्न सकिएन भने बजारबाट छुट्टिनु (एक्जिट) हुनुपर्ने अवस्था आउँछ । समय सापेक्ष आफूलाई परिवर्तन गर्न सक्नु नै बुद्धिमानी मानिन्छ । अहिले सबै प्रयास ट्रयाकमा गएको छ । पहिला हामी लोकल हिसावको ट्रयाकमा थियौं भने अहिले तिव्र रुपमा विकसित भएर अर्थतन्त्रमा अझै टेवा पुर्याएको हो । अहिले जे जति काम गरिरहेका छौं त्यो सहि ट्रयाक अथवा सहि ढंगले अगाडि बढिरहेका छौं ।

फाइनान्स खोल्दै गर्दाको लगानीको अपेक्षित प्रतिफल अब प्राप्त हुन्छ ?

आजभन्दा २० वर्ष अघि बैंकको औषत रिटर्न धेरै थियो । अधिकांश बैंकहरुले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्थे । अहिले राम्रो भनिएका बैंकहरुको पनि लाभांश घट्दै गएको छ । आज लगानी गरेर भोलि नै प्रतिफल खाने क्षेत्र बैंक होइन । आज लगानीको प्रतिफल घट्दैछ भने कुनै दिन यो बढ्न सक्छ । यो सबै व्यवस्थापनमा भर पर्ने कुरा हो । बैंकलाई चुस्त र दुरुस्त राख्दै समय सापेक्ष परिवर्तन गर्नुपर्छ । बैंकले दीर्घकालमा प्रतिफल दिन्छ । जो मान्छे आजको भोलि रिटर्न खोज्छ त्यो मान्छेले बैंकमा लगानी गर्नु बेकार हो ।

हिमालयन बैंकसँग मर्जर गर्दा सिभिल बैंकका लगानीकर्ता कति सन्तुष्ट छन् ?

हिमालयन बैंक ३० वर्षको इतिहास बोकेको सक्षम बैंक हो । सिभिल बैंक १२ वर्ष इतिहास भएको बामे सर्दै गरेको हो । बैंकले बिस्तारै ट्रयाक समात्दै दौडिरहेको थियो । हिमालयन बैंक एउटा इतिहास बोकेको नेटवर्क धेरै, एसेट बढी भएको बैंक हो । यो हिसाबमा सिभिल बैंकका लगानीकर्तालाई वेल्थ म्याक्सिमाइजको अटोमेटिक फाइदा भएको छ ।

मर्जर गर्दा लगानीकर्ताको भावना पनि बुझेका थियौं । उहाँहरु सबै सन्तुष्ट हुनुहुन्छ । हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये अन्तिम अवस्थामा रहेको सिभिल बैंक मर्जरपश्चात् सातौं स्थानमा पुगेको छ । मर्जरपश्चात् सिभिल बैंकको भन्दा बढी प्रतिफल आउँछ । यो कुरा लगानीकर्ताहरुले बुझ्नु भएको छ । कोही पनि प्रमोटर मर्जरबाट विचलीत भएका छैनन् । उहाँहरुले गलत गरेको छ भनेर भन्नु भएको छैन ।

कुनै पनि कर्मचारीहरुलाई मर्का पर्ने गरी मर्जर भएको छैन । लिखित र मौखिक दुवै सहमति भएको छ । हजार जनालाई व्यवस्थापन गर्दा एकदई जना असन्तुष्टि हुनु स्वभाविक हो । तर, उहाँहरुलाई पनि हामीले उचित भीआरएसको सुविधा प्रदान गरेका छौं ।

सञ्चालक समिति, नाममा आफ्नो अपनत्व, व्यवस्थापनको उच्च तहमा आफ्नो व्यक्तिलाई छाडेर पनि सिभिल बैंकका लगानीकर्ता खुशी छन्, यो भित्रको राज के हो ?

कुनै पनि डिल गर्दा मेरो हैसियत के हुने भनेर अपनत्व खोज्यो भने त्यो कहिल्यै पनि पुरा हुँदैन । डिल गर्दा आफूलाई अन्तिममा राख्यो भने मात्रै सफल हुन्छ । सिभिल बैंकको व्यवस्थापन र सञ्चालक समितिले कहि पनि आफ्नो हिस्सा खोजेको छैन । सेयरधनीहरुले राम्रो स्वाप रेसियो पाउनु र कर्मचारी व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको छ । हिमालयन बैंकमा रहेर होस् या अन्य ठाउँमा रहेर होस् काम गर्न सकिन्छ । सिभिल बैंकका सीईओ सुनिल पोखरेलले भीआरएस लिएर विदा हुनुभयो । तर, उहाँको सक्षमताले एक हप्तामै विदेशी बैंकको सीईओ बन्दै हुनुहुन्छ । यहि अड्किएर बसिरहनु पर्ने जरुरी छैन । आफ्नो क्षमताले जहाँ गएर राम्रो गर्न सकिन्छ ।

तपाई सिभिल बैंकको अध्यक्ष भएपछि सबै सूचकमा द्रूत गतिमा सुधार गर्नुभयो । यसलाई निरन्तरता दिनुपर्छ भन्ने किन लागेन ?

बैंकको सञ्चालक समिति र व्यवस्थापनको इफोर्टले सम्भव भएको हो । पहिला सिभिल बैंक अण्डर क्यापासिटीमा सञ्चालन भएको थियो । म आएपछि पूणर् क्षमतामा सञ्चालनमा आएको हो । बैंकको पुँजी ९ अर्ब रुपैयाँ मात्रै थियो । अन्य बैंक २०/२५ अर्ब पुँजी भइसकेको अवस्थामा ९ अर्बको पुँजीले ठूलो सिनर्जी लिन सकिँदैन र प्रतिस्पर्धा गर्ने क्षमता रहँदैन भन्ने लाग्यो ।

सिभिल बैंक सफल हुनुमा व्यवस्थापन समूहले डिजिटलाइजेसनमा ठूलो फड्को मारेर हो । कर्मचारी घटाएर पेपरलेस बैंकिङ्ग सुरु गर्यौ । जसले गर्दा कम कर्मचारीले पनि धेरै सेवा दिन सक्ने भएपछि सिभिल बैंकले ग्रोथ गरेको हो । बैंकको विजनेश ग्रोथ ५० प्रतिशतभन्दा बढी हुँदै गर्दा पनि कर्मचारी संख्या घटाउँदै लग्न सफल भएका थियौ । बैंकको प्रडक्टिभिटी बढेर रिटर्न पनि बढ्दै गयो । सिभिल बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई प्राप्ति गरेर पुँजी बढाएको भए मर्जमा जानु पर्ने थिएन । तर, थोरै पुँजी भएर प्रतिस्पर्धात्मक फाइदा नहुने र सानो भोलुममा बस्नुपर्ने अवस्था थियो । विकास बैंक पनि त्यहि आकाराको हुन थालेकाले मर्जरको विकल्प खोज्यौं ।

९/१० अर्ब पुँजी भएका बैंकहरुले पनि आफ्नो विजनेश ग्रोथ गरिरहेका छन् । तर, उनीहरुको पुँजी र रिजर्भको आकार बराबर छ । उनीहरु विजनेश गर्न सक्षम छन् । ज्वाइन्ट भेञ्चर विदेशी बैंकको पहुँचले गर्दा विजनेश गरिरहेका छन् । सिभिल बैंक नयाँ बैंक भएकाले रिजर्भ धेरै थिएन ।

हिमालयन बैंकमा सिभिल बैंकलाई समाहित गरेपछि तपाइको भूमिका कस्तो हुन्छ ?

मेरो आफ्नो दैनिकी जे छ निरन्तरता दिन्छु । बैंकमा गर्नुपर्ने मेरो काम सबै सकिएको छ । एकीकृत कारोबारसम्म मेरो दायित्व पुरा भएको छ । सिभिल माईक्रोफाइनान्समा अध्यक्षको भूमिका निर्वाह गरेका पनि थिए । आइएमई जनरल इन्स्योरेन्समा पनि आफ्नो दायित्व पुरा गरेको थिए । आइएलएफसीमा १८ वर्ष आवद्ध भएर मर्ज गराएको थिए । यसलाई समान्य रुपमा लिन्छु । आगामी दिनमा पनि आफ्नो दैनिकी यहि हिसावमा निरन्तर अगाडि बढाउँछु ।

सबल र सक्षम बैंकसँग मर्जर गर्न सफल भएका छौं । एमओयू गर्नुभन्दा अघि नै सबै कुराहरु स्पष्ट भएको हुँदा केही बाधाहरु आएनन् । अन्य बैंकहरु पनि मर्जर भएका छन् । एउटा संस्थालाई राम्रो संस्थामा हस्तान्तरण गरेको छु । सिभिल बैंकको सञ्चालक र अध्यक्षको ४ वर्षे कार्यकालमा अण्डर पर्फमिङ बैंकलाई पर्फमिङ गरेर राम्रो संस्थासँग हात मिलाएर आफ्नो जिम्मेवारीबाट विदा भएको छु ।

आइएलएफसीलाई सिभिल बैंकमा मर्ज गराउँदा बोर्डमा हुनु हुन्थेन । पछि बैंकको सञ्चालकमा आएर अध्यक्ष बन्नु भयो । हिमालयन बैंकमा यस्तै उदय कहिलेसम्म देख्न पाउँछौं ?

गर्न सक्ने मान्छेले एक कार्यकालमा सबै काम गर्न सक्छ । आइएमई जनरल इन्स्योरेन्स एउटा बिग्रेको संस्था थियो । अध्यक्ष अम्बिका पौडेल हुनु हुन्थ्यो । घाटामा रहेको कम्पनीलाई नाफामा ल्याउन सफल भयौं । कम्पनी सुधार भएपछि मेरो जरुरी भएन । सिभिल बैंकका तत्कालिन साथीहरुले तपाई आउनु पर्यो भनेपछि आएको हु । मेरो नेतृत्वमा एउटा टिम बन्यो । बैंकलाई ग्रोथ गराउन सञ्चालक समितिले भिजन बनायो । त्यसमा हामी सफल भयौं । तत्कालिन अध्यक्ष विभिन्न परिवन्धमा परेपनि हामी विचलित भएनौं । त्यसको बाबजुत पनि हामीले बैंकलाई सफल बनाउन भयौं ।

मेरो अन्य ठाउँमा पनि लगानी छ । जुन ठाउँमा मेरो जरुरत हुन्छ अथवा मलाई आह्वान गरिन्छ भने तयार छु । सिभिल बैंकका सञ्चालक अम्बिर बोगटी जीले तपाइ आउनु पर्यो भनेर अनुरोध गरेपछि म आएको थिए । अब जुन संस्थामा केही गर्नुपर्छ भन्ने जरुरी लाग्छ त्यसैमा प्रवेश गर्छु ।

राष्ट्र बैंकले तोकेको समय सीमा भित्र एकीकृत कारोबार गर्न सक्नु भएन । राष्ट्र बैंकले दिने सुविधा के हुन्छ ?

असारपछि मर्जर सम्झौता गरेका कुमारी बैंक र एनसीसी बैंकको मर्जर सम्पन्न भयो । उनीहरुले करको सुविधा पाउँदैनन् । लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जर सम्झौता गरेका छन् । राष्ट्र बैंकको मर्जर नीतिलाई अबलम्बन गरेको हुँदा मर्जरमा पाउने सेवा सुविधा पाउने अपेक्षा छ । असार अघि गरेको हुँदा कर छुट पाउँछौं । स्वीकृति प्रक्रिया पुस अगाडि नै लिइसकेको हुँदा त्यो सुविधा पाउने अपेक्षा छ ।

One comment on "हिमालयनमा मर्ज हुँदा सिभिल बैंकका सबै लगानीकर्ता र कर्मचारी खुशी छन्ः प्रतापजंग पाण्डे"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.