सोमबार हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार, स्वाभिमान लघुवित्तमा लाग्यो सकारात्मक सर्किट

  २०७९ फागुन १५ गते १५:२३     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २५९ वटा स्क्रीप्समध्ये हिमालयन डिष्टिलरीको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको हो ।

एकैदिन कम्पनीको २९ हजार २२ कित्ता सेयर ६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको हो । नेप्सेका अनुसार कम्पनीको सो मात्राको सेयर एक हजार ३० पटकमा किनबेच भएको छ । त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा रहेको एनआईसी एशिया बैंकको ५ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

समग्रमा सोमबारको बजारमा एक अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६३ करोडले घटी हो । आइतबारको बजारमा २ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएका थिए ।

त्यस्तै, सोमबार सर्वाधिक सेयर मूल्य बढ्नेको सूचीमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा अर्थात ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४८९ रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा प्रतिकित्ता १३२ रुपैयाँले बढी हो । यसैगरी, ९ प्रतिशत बढीले बढ्नेमा सामलिङ पावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

सोमबारको नेप्से परिसूचक भने ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले घटी हो । सो दिन परिसूचक घटेर न्यूनतम अर्थात १९९२ बिन्दुमा झरेको थियो ।

सामान्य अंकले घटेको बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य सबैभन्दा बढी प्रतिशत अर्थात ६.४३ प्रतिशतले घटेको छ । र, सोमबार प्रतिकित्ता ३६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.