विदेशी लगानीकर्ताको लागि एकल विन्दु सेवा सुरु गर्दैछौं : प्रधानमन्त्री 

  २०७९ फागुन ३० गते १३:०१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल विन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले एकल विन्दु सेवा सुरु गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताएका हुन् ।

पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यक्ता रहेको बताउँदै उनले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने पनि बताए ।

‘चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेको छ, अफ्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरै भन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिवद्ध छ,’ उनले भने ।

यस्तै, उनले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासु लगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गरे ।