२०७९ चैत ६ गते १८:३५ विकासन्युज
काठमाडौं । नेपाल उद्योग परिसंघले दुई दिने ‘महिला नेतृत्व शिखर सम्मेलन २०२३’ गर्ने भएको छ । परिसंघले महिला नेतृत्व मञ्चको संयोजनमा आगामी चैत ११ र १२ गते काठमाडौंको सोल्टी होटलमा उक्त सम्मेलन गर्न लागेको हो ।
सोमबार पत्रकार सम्मलेन गर्दै परिसंघले महिलाहरुलाई नेतृत्व तहमा पुर्याउने उद्देश्यले उक्त दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराएको हो । सम्मेलनमा लैंगिक समानता विषयसहित महिला नेतृत्वहरुबीच विचार आदान प्रदान गर्ने, रणनीति बनाउने, महिलाहरुको सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एक अर्काबाट सिक्ने अवसर प्राप्त हुने महिला नेतृत्व मञ्चकी सभापति छाया शर्माले बताइन् ।
उनका अनुसार महिला नेतृत्व शिखर सम्मेलनले विशेष तीन वटा विषयवस्तुमा बहस, छलफल, विचार विमर्श गर्ने छ । जसमा महिला र राजनीति, महिला र अर्थतन्त्र, परिवर्तनका सम्भाव महिलाको सेरोफेरोमा प्यानल डिस्कसनहरु हुने उनले बताइन् ।
‘सम्मेलनमा महिला नेतृत्वको विकास कसरी गर्ने, नेतृत्व तहमा पुग्नलाई के कस्ता चुनौतिहरु सामना गर्नुपर्छ, कस्ता कस्ता रणनीतिहरु अपनाउनु पर्छ र अबका दिनमा महिलालाई नेतृत्वमा पुर्याउन के कस्ता कामहरु सरकारले गर्नुपर्ने छ भन्ने विषयहरुलाई विभिन्न प्यानलहरुमा छलफल हुने छ,’ सभापति शमाले बताइन् ।
परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले सम्मेलनमा कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने सम्मेलनको उद्देश्य रहेको बताए ।
‘सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने हुने छ,’ परिसंघका उपाध्यक्ष चौधरीले बताए ।
सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रबद्र्धनका लागि ३० जना महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । त्यस्तै, सम्मेलनमा बिजनेस, राजनीतिक, जलवायु परिवर्तन, डिजिटल, मिडिया र इन्टरटेनमेन्ट, साउथ एशियन रिजनल प्यानल र विभिन्न प्रदेशहरुबाट महिला उद्यमीहरुको ९ वटा प्यानल रहने जानकारी गराईको छ ।
उद्योग वाणिज्य तथा महिला आपूर्ति मन्त्रालयसँगको समन्वयमा हुन गइरहेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिएको समेत बताइएको छ । उक्त सम्मेलनमा हुने विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहने छ ।
त्यस्तै, पहिलो पटक हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनको एम्बास्डरमा भारतीय अभिनेत्री सोनाक्षी सिन्हालाई नियुक्त गरिएको छ ।
महिला नेतृत्व मञ्च र यसको मूख्य उद्देश्य ?
वोमेन लिडरशीप फोरम अर्थात महिला नेतृत्व मञ्च नेपाल उद्योग परिसंघको नयाँ इनिसिएटिभ हो । जुन सन् २०२१ मा स्थापना भएको हो । स्थापना भएको करिब तीन वर्षको दौरानमा यो मञ्चले महिलालाई नेतृत्वतहमा पुर्याउनको लागि विभिन्न कामहरु गर्दै आएको छ ।
यो मञ्जमा विभिन्न क्षेत्रको नेतृत्व तहमा रहेका महिलाहरु सदस्यको रुपमा आवद्ध छन् । यो फोरमको मान्यता नै बढीभन्दा बढी महिलालाई कर्पोरेट, अर्थतन्त्र लगायत राजनीति क्षेत्रभित्र समेटी उनीलाई नेतृत्व तहमा पुर्याउनुपर्छ भन्ने मुख्य उद्देश्य हो ।
साथै, यो फोरम अर्थात मञ्चले जुनसुकै क्षेत्रको नेतृत्व तहमा पुग्दा महिलाहरुले भोग्नु पर्ने चुनौतिहरुको पहिचान गरी समाधानका रणनीतिहरु पहिल्याई महिलाहरुलाई कसरी उच्च तहमा पुर्याउन सकिन्छ भन्ने ध्येयका साथ विभिन्न कार्यक्रम चलाउँदै आएको छ ।
कोभिड माहामारीपछि अधिकांश महिलाहरु बढी प्रभावित भएको फोरमले जनाएको छ । आइएलओले गरेको सर्वेक्षणअनुसार पनि १६ लाखदेखि २० लाखले रोजगारी गुमाएका छन् । सोही सर्वेक्षणले ३७ प्रतिशत व्यवसायले महिला कामदारहरुको तलब घटाएको र ५ प्रतिशत व्यवसायहरुले पुरै तलब कटौती गर्नुका साथै जागिरबाट महिलाहरुलाई हटाएको फोरमले जनाएको छ ।
सीबीएसको रिपोर्ट अनुसार २०१९ मा प्रकाशित गरेको राष्ट्रिय आर्थिक जनगणनाअनुसार देशका कूल ९ लाख २३ हजार तीनसय ५३ उद्यममध्ये २ लाख ४७ हजार ८८० अर्थात २९.८ प्रतिशत उद्यमहरु महिलाद्धारा सञ्चालित थिए । र, कोभिडपछि महिला उद्यमी महासंघले सर्वेक्षण गर्दा १५ प्रतिशत महिलाहरुले सञ्चालन गर्दै आएको व्यवसायहरु पूर्ण रुपमा बन्द भएको पाइएको जानकारी गराइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.