२०७९ चैत ७ गते १६:११ विकासन्युज
पछिल्लो समय सरकारको आम्दानीभन्दा खर्च बढी हुन थालेको छ । सरकारको आम्दानी कम हुँदा स्रोत परिचालनमा समेत समस्या पर्न थालेको छ । देशको आम्दानीको मुख्य स्रोत भनेको आन्तरिक र भन्सार राजश्व हो । पछिल्लो समय दुवै क्षेत्रका राजश्व संकलनमा कमी आउँदा अर्थतन्त्रमा चाप परेको हो । राजश्व संकलन गर्ने एक मुुख्य निकाय हो आन्तरिक राजश्व विभाग । राजश्व कम संकलन हुनुको कारण, बढाउनका लागि गर्नुपर्ने काम कारवाही र समग्र कर प्रशासनको विषयमा विभागका महानिर्देशक दीर्घराज मैनालीसँग विकासन्युजका लागि सन्तोष रोकाया र समुन्द्रा घिमिरेले कुराकानी गरेका छन् ।
पछिल्लो समय सबैको ध्यान राजश्वमा गएको छ, राजश्व संकलनमा कमि आएकै कारण पनि अर्थतन्त्रमा एक किसिमको समस्या सिर्जना भएको धेरैको बुझाइ छ, राजश्व संकलनमा ह्रास कसरी आयो ?
राजश्व संकलन यसअघि केही कम नै थियो । तर, पछिल्लो समय कर संकलनमा वृद्धि हुन थालेको छ । सुधारोन्मुख अवस्थामा छ । आन्तरिक राजश्व विभागले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क हेर्न हो । मंसिरसम्मको भन्दा पछिल्लो अवधिमा लगभग गत वर्षको राजश्व संकलन बराबर पुुगेका छौं । राजश्व संकलनमा सुधार हुँदै गएको छ । हामीले गर्ने भनेको हाम्रो राजश्व प्रशासनका काम कारवाहीलाई चुस्त, दुरुस्त बनाउने, करको स्वेच्छिक सहभागितालाई वृद्धि गर्न ‘सेल्फ एसेस्टमेन्ट’ सिष्टमलाई एक्सटेन्थन (बिक्री मूल्यांकन प्रणाली) का लागि हामीले सबै कार्यालयहरुलाई परिचालन गरेर बक्यौता रकम संकलनदेखि विवरण नबुझाउने माथि विवरण बुझाउनका लागि अनुकुल बातावरण निर्माण गर्ने, विवरण नबुझाउने माथि कानुन बमोजिम छानविन गरी अनुसन्धान र कारवाहीको काम अगाडी बढाएका छौं ।
यससँगै बजार अनुगमन, बिलिङ इन्फोर्समेन्टलाई पनि अगाडि बढाएका छौं । बक्यौता संकलनको लागि विभाग मातहतमा रहेका ४५ वटा आन्तरिक रावश्व कार्यालयबाट हुन्छ । विभागले समन्वय र सहजीकरण मात्र गर्ने हो, राजश्व संकलन गर्दैन् । हाल मुद्धा परेका बाहेक २० अर्ब बढी बक्यौता रकम देखिएको छ । हामीले उक्त बक्यौता रकम उठाउन प्राथमिकता दिएका छौं । कानुनले नै स्पष्ट रुपमा भनेअनुसार बक्यौता रकम असुल उपर गर्नका लागि सम्पत्ति रोक्का, बैंक खाता रोक्का तथा लिलाम बिक्रीका तहसम्मका काम कारबाहीहरु हुन्छन् । बक्यौता रकम भुुक्तानी गर्न हामीले निजी क्षेत्रका संघसंस्थाहरुसँग पनि समन्वय र छलफल गरिरहेका छौँ ।
भ्याटमा कारोबार गर्ने, आयात गर्ने, आपूर्ति सप्लाईको काम गर्ने तर आय विवरण नबुझाउनेको संख्या बढ्दो क्रममा छ । त्यो अहिलेमात्र भएको होइन, पहिलै देखि नै हो, तर अहिले बढी देखियो । तथ्यांक सहित हामीले सिष्टममा सो कुरा राखेर लिखित रुपमा नै कार्यालयलाई हेर्न निर्देशन दिइसकेका छौं । तथ्यांक यति नै छ भन्ने तथ्यांक आइसकेको छैन्, तर ठूलै संख्यामा त्यस्ता करदाता देखिएका छन् । हामीले उद्योग वाणिज्य महासंघलाई लिखित रुपमा नै पत्र पठाएर आफ्ना व्यवसायीलाई विवरण बुझाउनका लागि सहजीकरण गरिदिनुस् भनेका छौं ।
समयमा विवरण नबुझाउँदा करदातालाई शुल्कहरु लागिरहेको हुन्छ । विवरण बुझाएपछि त्यो शुल्क लाग्दैन । समयमा विवरण नबुझाउँदा व्यवसायीलाई घाटा भइरहेको छ । कर बुझाउने एउटा कुरा छ, तर कर नबुझाएका कारण व्याज बुझाउने अर्काे कुरा छ । तर त्यो विवरण नबुझाउँदा हरेक दिन व्यवसायको सेल्स (टनओवर) का आधारमा जरिवाना लागिरहेको हुन्छ । त्यो भोलि मिनाहा हुने तर छुट पाइने भन्नै हुँदैन्, व्यवसायीलाई घाटा हो । अहिले पैसा छैन, तर तोकिएको समयमा विवरण बुझाउनुस, जति छ त्यति बुझाउनु अरु बाँकी रकम किस्ताबन्दी मार्फत बुझाउन पाइन्छ । तर विवरण नै नबुझाए बापत शुल्क बुझाउने कुरा रोकिन्छ । भ्याटको ननफाइलर हटाउने काममा विभाग केन्द्रीत छ ।
विभागले कार्यालयको कामका गुणस्तरमा पनि ध्यान दिएको छ । हामीले कार्यालयलाई निर्देशन दिएका छौँ, त्यसको जानकारी मन्त्रालयलाई पनि दिइएको छ, हामीले नियमित रुपमा अनुगमन गरिरहेका छौँ । समग्र कर प्रशासनको पारदर्शिता र जवाफदेहीतामा वृद्धि गरेको छ, त्यसको असर राजश्व संकलनमा पर्ने हो । हामीले हाम्रो तर्फबाट गर्न बाँकी काम केही राखेका छैनौं । त्यसको सुधारको प्रभाव क्रमशः देखिएको छ । सिष्टममा सुधारको विषय एकै दिन हुने कुरा पनि होइन, हामी लागिरहेका छौँ, असर/प्रभाव देखिन थालेको छ ।
बिल बिजक जारी नहुँदा सरकारी कोषमा जाने रकम ब्यक्तिको खल्तीमा जाँदा राजश्व संकलनमा कमी भएको भन्न मिल्छ ?
मिल्छ । केही हदसम्म बिल बिजक जारी नहुँदा पनि राजश्व संकलनमा कमी आएको हो । धेरै फ्याक्हरु छन् । हाम्रो आर्थिक गतिविधिहरु बढाउनुपर्याे, अहिलेको मुख्य समस्या नै आर्थिक गतिविधि चलायमान भएन भन्ने छ । आर्थिक गतिविधि वेल डिसिपेल हुनुपर्याे । चोरी पैठारी नियन्त्रण हुनुपर्याे, बिल बिजक जारी हुनुपर्याे, चुहावट हुनु भएन । पुँजीगत खर्च समयमा नै हुनुपर्याे र कर विवरण दाखिला सही समयमा गर्नु पर्याे ।
अहिले हामीले छानबिन अनुसन्धान गर्दछौं । डाटा तयार गरिरहेका छौं । झुटा नक्कली बिजक विगतदेखि नै निरन्तर भएको देखिएको छ । यस्ता गतल खालका आर्थिक गतिविधि हुनुभएन । राज्य दुब्लाउने र सीमित ब्यक्ति मोटाउने खालको प्रविधि रोक्न हामी केन्द्रीत भएका छौं । हामी असार मसान्तसम्म राजश्व संकलनको दर बढाउछौं । पुँजीगत खर्च बढ्दा त्यसको असर राजश्वमा पर्छ । मौद्रिक नितीमा व्यवस्था भएका व्यवस्थाको कार्यान्वयन, आयातमा लगाइएको प्रतिबन्ध फुकुवा लगायतका असर राजश्वमा देखिन्छ । हामीले सुष्म रुपमा हेरिरहेका छौं । सुधार पनि भएको छ । सुधारको गतिलाई अझ बढाउने र तीव्रता दिन्छौं । हामी कानुन बमोजिम बाहेक एक रुपैयाँ पनि कर उठाउँदैनौँ । करदाताले पनि तोकिएको रकम भुक्तानी गर्नुपर्याे कर प्रशासनले पनि कानुनभन्दा विपरित ढंगले कर निर्र्धाराण गर्ने, असुल उपर गर्ने काम गर्न भएन । हाल बिल विजक लिने दिने पद्धती, प्रणाली र बानीको विकास अपेक्षित रुपमा हुनै सकेको छैन । केही वस्तुको बिक्री गर्दा बिजक नदिने र अर्काे बिजक नै नलिने, यो खालको समस्या उपभोक्ता लेबलमा देखिन्छ ।
हामीले किनेको वस्तु सेवामा रित पूर्वकको बिजक लियौं भने त्यसमा तिरेको कर राज्यको कोषमा जान्छ । यदि बिल बिजक लिएनौं भने त्यसको कर तिरेको हुन्छ, तर राज्यको कोषमा नगएर ब्यक्तिको खल्तीमा जान्छ । हामी सचेत नागरिक हरेक वस्तु तथा सेवा किनेपछि अनिवार्य रुपमा बिलबिजक लिनुपर्याे, भन्सार सुधारको प्रमुख कारक नै यही हो । यसमा हामी सचेत हुन जरुरी छ । रेष्टुरेन्ट, होटल, किराना पसलदेखि अन्य क्षेत्रमा हामीले तोकिएको मूल्य (ट्याक) बाहेक थप रकम भुक्तानी गर्नु हुँदैन । त्यसमा नै सबै रकम जोडिएको हुन्छ, यदि कसैले भ्याटको १३ प्रतिशत लगायत अन्य शुल्क लाग्छ भन्छन्, त्यो भन्न पाइदैन । उपभोक्ता आफै सचेत हुनु जरुरी छ । यदि कसैले त्यसो भन्यो भने हामी कारवाही गर्छौं ।
तपाईंले राजश्व संकलनमा सुधार भइरहेको छ भन्नुभयो, त्यसको तर्क के हो ?
रेभ्युनुको ग्रोथ बढेको छ । हिजो ६ देखि ७ प्रतिशतसम्म माइनस हुँदा अहिले १ प्रतिशतमा झरिसकेको छ । भ्याटको ग्रोथ बढेको छ । हामीले डिजिटल माध्यम (आईटी सिष्टम) पूर्ण रुपमा कार्यान्वयनमा ल्याएका छौं । कर भुक्तानी गर्न पहिलाको जस्तो कार्यालयमा गएर लाइन बस्नुपर्ने बाध्यताको पूर्ण रुपमा अन्त्य भएको छ । अहिले घरमै बसेर विभिन्न इ–पेमेन्ट (सेवा प्रदायक कम्पनी मार्फत) कोे माध्यमबाट भुक्तानी गर्न सकिन्छ । करको दायरा पनि विस्तार गरेका छौं । अब आउने बयाँ बजेटमा पनि थुप्रै करका दायरलाई सुधार गर्ने प्रयास गर्नेछौं ।
हामीले कानुन बमोजिम सही कर ओपन हुनुपर्छ भनेका छौं, करदातामाथि अनुचित रुपमा अन्याय गर्न पाइँदैन भनेका छौं । कर निर्धारण गरेर असुलउपर गरिएको छ भने त्यो गर्न पाइँदैन, विभागले त्यो काम रोकेको छ । हामीले व्यवसायलाई सहयोग हुने आश्वासन दिलाएका छौं । जसले गलत गतिविधि गर्छ, कर छल्ने, चुहावट गर्ने काम गर्छ, त्यो माथि हामी शसक्त रुपमा कारवाही गर्छौं । तर, असल रुपमा कानुन बमोजिम काम गर्नेलाई हामीले सधै प्रोत्साहन गछौँ ।
अहिले ठूला व्यवसायीभन्दा पनि साना व्यवसायी मारमा परेको, कर तिर्न नसकेको विषय बाहिरिरहेका छन्, तपाईंहरुको बुझाइ के हो ?
मनी सर्कुलेसन कम भएपछि उत्पादन, रोजगारी, आम्दानी सबै क्षेत्रमा असर गर्छ । अहिले ठूला÷साना सबै व्यवसायी समस्यामा छन् । तर, केही क्षेत्रमा अलि बढी असर गरेको देखिन्छ । केही क्षेत्रमा कम असर होला । अहिले हेर्दा निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरु पूर्ण रुपमा समस्यामा परेको देखिन्छ । उनीहरुको उत्पादन र बिक्री घटेको देखिन्छ । डण्डी सिमेन्ट क्षेत्र पनि समस्यामा छ । खाद्यान्न सम्बन्धि उद्योगमा त्यस्तो धेरै समस्या देखिएको छैन । दाल, चामल, मैदा उद्योगहरु झन राम्रो छन् । पुससम्मको तथ्यांक अनुसार बैंकको राम्रो थियो, अहिले केही चाप पर्छ की भन्ने छ, तर अन्यको तुलनामा राम्रो नै छ । अहिले साना ठूला व्यवसायी सबै समस्यामा छन् । केही क्षेत्रमा धेरै होला तर केहीमा कम होला, तर, समग्रमा अछुतो छैन । सेवा क्षेत्रमा सुधार भएको छ, पुँजीगत क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको छ । अब पैसाको ब्यापार बढाउनुपर्छ ।
विभिन्न बैंकहरुले व्यवसायी कर्जा माग गर्न आउँदा कर चुक्ता प्रमाणपत्र लिएर आउँदैनन्, त्यसैले पनि कर्जा दिन समस्या छ भनिरहेका छन्, व्यवसायीको गुनासो पनि त्यस्तै सुनिन्छ, अहिले कर चुक्ताको प्रमाणपत्र लिन गाह्रो पर्ने गरेको हो ?
हाम्रोे तर्फबाट ट्याक्स क्लियरेन्सका लागि केही समस्या नै छैन । करदाता आफैले आफ्नो कर निर्धारण गरेर हाम्रो सिष्टममा गएर अनलाइनबाटै कर विवरण बुझाउने हो । १ करोड रुपैयाँसम्म कारोबार गर्ने साना करदाताले सटिर्फिकेट अनलाइनबाटै लिन सक्नुहुन्छ । एक करोड रुपैयाँमाथिको हकमा विवरण बुझाएपछि कर चुक्ताको प्रमाणपत्र पाइहालिन्छ । हाम्रो कारण कर चुक्ता प्रमाणपत्र दिन रोकिएको छैन । अहिले एकदमै राम्रो सिष्टम छ, करदाताले बुझाएको करको वित्तीय विवरण नबुझाई कुनै बैंक तथा वित्तीय संस्थाले ऋण नै दिँदैनन् । यो समस्या हाम्रो कारणले होइन ।
व्यवसायी अर्थात् करदातहरु समयमै आय विवरण किन बुझाउन मान्दैनन्, यसभित्रको समस्या के हो ?
करदातासँगै अडिटरहरु सचेत नहुँदा समयमा नै कर विवरण नबुझाउने प्रवृति देखिएको हो । करदातालाई सबै कुराको जानकारी नहुनु र एकै जना अडिटरले धेरै काम लिँदा समयमा नै विवरण दाखिला हुन नसकेको हाम्रो अनुमान हो । आर्थिक वर्ष सकिएको तीन महिना अर्थात असोज मसान्तभित्र अघिल्लो वर्षको विवरण दाखिला गरि सक्नुपर्ने हुन्छ । उसले तोकिएको समयमा विवरण बुझाउन नसक्दा पुस मसान्तभित्रको समय अनलाइन माध्यमबाटै माग गर्न सक्छन् ।
तोकिएको समयमा विवरण दाखिला नहुनुको पछाडि हामीले गैरकाकुनी कारोबार बढेको हो की भन्ने अनुमान छ । जस्तै मैले अरुको नामबाट कारोबार सुरु गरँ भने किन विवरण बुझाउने । एक दुई वर्ष काम गर्छु अनि छोड्छु भन्ने मानसिकता राखेर सम्बन्धित ब्यक्तिलाई बिना जानकारी कारोबार गरेको हाम्रो अनुमान हो । यस्ता कारोबारलाई निरुत्साहित गर्न हामीले चालू आर्थिक वर्षको सुरुवातदेखि नै अभियान नै सञ्चालन गरेर लागि परेका छौं । पुस मसान्तभित्रै नियमित विवरण नबुझाउने कारदाताको नामावली संकलन गरेर हामीले पहिलोे पटक कारवाही गर्न करदाता कार्यालयलाई निर्देशन दिइसकेका छौं ।
यसअघि डाटा संकलन नै हुँदैन थियो । हामीले पहिलो पटक विवरण नबुझाउने कारदाताको विवरण सबै संकलन गरिसकेका छौं । कुन करदाताको कति कारोबार भएको छ, विवरण बुझाएको छकि छैन भन्ने सबै तथ्यांक कार्यालयलाई उपलब्ध गराइसकेका छौं । अनलाईनबाट कार्यालयले हेरेर छानविन सुरु गर्न सक्छन् । त्यो विवरण सम्बन्धित राजश्व कार्यालयमा रहेका अधिकृत स्तरका कर्मचारीले मात्र हेर्न सक्छन् । हामीले काम सुरु गरिसक्यौं । हामीले अधिकृतहरुलाई विवरण दाखिला नगर्ने कर्मचारीलाई भेटेर सहजीकरण गरेर विवरण बुझाउने समय दिन लागेका छौं । पहिलो चरणमा ताकेता गर्न समेत वेवास्ता गर्नेहरुलाई छानविन सुरु गर्न हामीले निर्देशन दिइसकेका छौं । अब पर्याप्त समय दिँदा समेत विवरण नबुझाउने करदाताको हामीले कार्यालय स्थलमै गएर छानविन गरेर कारवाही सुरु गर्छौं ।
विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरु दोहोरो करको मारमा पर्यौं भनेर गुनासो गर्नुहुन्छ, यसलाई सच्याउन मिल्दैन ?
करको दर कतै पनि दोहोरिएको छैन । एक अर्कासँग जोडिएका विषय (हरेक इन डिपेन्डेड एक्टीभिटिज) का हरेक तहमा कर लाग्छ । जस्तो, मैले तलब दिँदा कर काटिन्छ । मैले पाएको तलबबाट मैले खर्च गर्दा विभिन्न शिर्षकमा कर बुझाउँछु (जस्तो, लुगा किन्न भ्याट बापत बुझाएको कर, खाद्यान्न किन्दा बुझाएको कर) । यो दोहोरो कर होइन, हरेक क्रियाकलाप अनुसार छुट्टा छुट्टै कर मात्र लाग्ने हो । हाम्रो बुझाईमा फरक परेको मात्र हो, नेपालमा दोहोर कर प्रणाली कतै पनि छैन । बरु हाम्रोमा अर्काे समस्या के छ भने, सबै खालका आम्दानीमा कर लगाउन सकिएको छैन । ब्यापार गरेर कमाएको आम्दानीमा एउटा, जग्गा किनेर कमाएकोमा अर्काे, जागिर खाएर कमाएकोमा अर्काे कर लाग्नु पर्ने हो । यस्तो खालको समस्या धेरै छन्, यसमा व्यवस्थापन गर्न आवश्यक छ । तपाई नुन बेचेर आम्दानी गर्नुस् कि सुन बेचेर गर्नुस्, आम्दानी हुँदा नै कर लाग्ने हो, नोक्सानमा लाग्दैन ।
करको दायारामा ल्याउनुपर्ने त्यस्ता कुनै नयाँ क्षेत्र बाँकी छन् र ?
ल्याउने क्षेत्रहरु धेरै छन् । कतिपय क्षेत्रलाई हामीले छुट दिएका छौं भने केही क्षेत्रलाई करको दायरामा समेट्ने प्रयास गरेका छौं । सूचना प्रविधि क्षेत्र अन्तर्गतको फेसबुक, ट्वीटर, गुगललाई करको दायरामा ल्याउन कानुन नै बनाएर व्यवस्थापन गरेका छौं । इ–कमर्ससँग सम्बन्धित व्यवसाय, सर्भिस सेक्टर (अडिटर, इन्जिनियर, डाक्टर, वलिक) का आम्दानीहरु पारदर्शी रुपमा करका दायरामा समेट्ने प्रयासमा छौं । यसअघि पनि समेटिएको थियो, तर पूर्ण रुपमा आउन नसकेको भन्ने गुनासो छ । कृषि क्षेत्र भ्याटको दायराभन्दा बाहिर छ । हामीले बुझेका छैनौं । भ्याट बुझाउनमा भन्दा छुट दिँदा घाटा छ । भ्याट लाग्दा त्यसले व्यवसाय तथा उपभोक्ताले सेवा खरिद गर्दा तिरेको करलाई आम्दानीमा जोडेर मुनाफा लिइन्छ । तर, भ्याट लाग्यो भने सेवा खरिदमा लागेको कर बिक्रीमा लगाईएको करमा घटाउने हो, त्यसकारण भ्याट छुटमा बढी पर्छ ।
अहिले उद्योगी व्यवसायीहरु बैंकको उच्च ब्याजदरको विषयलाई लिएर सडकमा छन्, सावाँ ब्याज नै तिर्न सकिएन भनेर गुनासो गरिरहन्छन्, कर तिरिरहेका छन् कि छैनन् ? तपाईंकोमा के कस्ता समस्या लिएर आउने गरेका छन् ?
धेरैले नियमित तिरिरहेका छन् । समस्या नै लिएर विभागमा व्यवसायीहरु आउनु भएको छैन । छलफल गर्दा हामीले व्यवसायीको कुरा सुन्छौं । कानुन अनुसार होस् भन्ने उहाँहरुको चाहना छ, हाम्रो पनि त्यही हो । अहिलेको समस्या भनेको बैंक तथा वित्तीय संस्थाको ब्याजदरको दबाब छ भन्ने व्यवसायीको आन्दोलन र मागहरु देखिन सकिन्छ । तर उहाँहरुले कर धेरै भयो, घटाउनु पर्छ भनेको मैले सुनेको छैन, र मसँग त्यस्ता कुनै गुनासो पनि आएको छैनन् । हाम्रो र व्यवसायीबीच करका विषयमा कुनै समस्या छैन । हिजोका समस्यामा हामीले आश्वासन दिएका छौं । उहाँहरु विश्वस्त हुनुहुन्छ ।
देशको अर्थतन्त्रलाई लिएर धेरैले विभिन्न कोणबाट चिन्ता चासो व्यक्त गरिरहेका छन्, कतिले अब अर्थतन्त्र संकटमै जाने होकि भन्ने तर्कहरु पनि दिइरहेका छन्, तपाईंको बुझाइ के हो ?
अर्थतन्त्र संकटमा परेको होइन, तर कता जान्छ भन्ने धेरैको चासो चिन्ता व्यक्त गर्नु राम्रो विषय हो । आम रुपमा अर्थशास्त्री, विज्ञहरुले नेपालको अर्थतन्त्रको विषयमा चासो राख्नु राम्रो कुरा हो । हामी सबै चुप लागेर ठीक छ भनेर बस्दा एकैपटक अर्थतन्त्र नकारात्मक अवस्थामा पुग्यो भने कसले थेग्छ । त्यसैले बेलैमा सचेत गराउने काम भएकोे हो । अर्थतन्त्र दबाबमा छ, तर यसलाई सुधार गर्न सकिन्छ र सुधारतिर अग्रसर छ ।
राजश्व संकलनको लक्ष्य भेटाउन सकिन्छ ?
राजश्व मात्र एक्लै आइसोलेसनमा चल्ने विषय भएन । समग्र आर्थिक गतिविधि बढ्नु पर्याे, बढाउनु पर्याे, त्यसलाई पारदर्शी र जवाफदेही बनाउनु पर्याे । हामीले अहिले ५ करोड सम्मका कारोबारलाई कम्प्युटर बिलिङ अनिवार्य गरेका छौँ, त्यसको नियमन पनि बढाएका छौं । व्यवसायिक पारदर्शीता होस्, एउटा व्यवसायले पनि लगानी गर्ने अनुकुल वातावरण निर्माण होस् र खासगरी कर प्रशासनको तर्फबाट गर्नुपर्ने सेवा, शिक्षा लगायतका कुराहरुमा हामी बढी प्रोएक्टीभ भएर करदातालाई स्वेच्छिक सहभागिता जनाउनसक्ने तर्फ हाम्रो प्रयत्न रहन्छ । यो समय भनेको जति बढी जोखिम लियो त्यति धेरै प्रतिफल पाइने समय हो । म लगानीकर्ताहरुलाई यो समयमा लगानी गरेर बढीभन्दा बढी प्रतिफल लिन पनि सुझाव दिन्छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.